साढे ६२ हजार भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइए

साढे ६२ हजार भूकम्पपीडित लाभग्राही सूचीबाट हटाइए


काठमाडौं,

सरकारले तोकेको समयसीमा भित्र सम्झौता नगर्ने र सम्झौता गरेर पनि पहिलो किस्ता नलिने साढे ६२ हजार भूकम्पपीडितको नामावली लाभग्राहीको सूचीबाट हटाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा समावेश भएर २१ असार ०७६ सम्म सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नलिने ६२ हजार ८४९ भूकम्प पीडितलाई लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको हो ।

प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेका लागि अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्य स्थगित गर्न सबै निकायहरूलाई निर्देशन दिएको समेत जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा परेर पनि सम्झौता नगर्ने ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका छैनन् । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या ५ हजार ५४० रहेको छ । उनीहरूलाई प्राधिकरणले लाभग्राहीको सूचीबाट हटाएको हो । लाभग्राहीको सूचीबाट हटेसँगै अब उनीहरू निजी आवास निर्माणमा सरकारबाट पाउने अनुदानबाट वञ्चित भएका छन् । सरकारले किस्ताका आधारमा निजी आवासका लागि ३ लाख अनुदान दिँदै आएको छ ।

प्राधिकरणका एक अधिकारीले यसअघि प्राधिकरणले गरेका निर्णयलाई कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाएको जानकारी दिए । ८ लाख २६ हजार ९३३ भूकम्प पीडितमध्ये ७ लाख ६९ हजार ६२४ ले भने अनुदान सम्झौता गरेका छन् । जसमा कतिपयले निर्माण सम्पन्न गरिसकेका छन् भने कतिपयको हकमा धमाधम निर्माणको काम भइरहेको छ ।
राजधानीबाट

Logo