८६९ हुरीपीडितलाई सरकारले दियो घर

८६९ हुरीपीडितलाई सरकारले दियो घर


वीरगञ्ज,

बारा र पर्सामा विनाशकारी हावाहुरी तथा असिनापानीबाट आवासविहीन बनेका पीडित परिवारले पाँच महिनामै सरकारनिर्मित आवास पाएका छन् । प्राकृतिक प्रकोपबाट पीडितले यति छोटो अवधिमा सरकारनिर्मित आवास पाएको यो पहिलो अवसर हो । गएको चैत १७ मा त्यहाँ विनाशकारी हावाहुरी चलेको थियो ।

नेपाली सेनाले निर्माण गरेका आवास बुधबार केन्द्र सरकारलाई हस्तान्तरण गरेपछि केन्द्र सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीयतह मार्फत पीडित परिवारलाई हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । नेपाली सेनाको जनता आवास निर्माण कार्यदलद्वारा बुधबार वीरगञ्जमा आयोजित घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको बताउनुभयो ।

हावाहुरी पीडितको घर निर्माणका क्रममा केही कमीकमजोरी भएको र केही छुट्न गएको लगायतका गुनासा सुन्नमा आएको बताउँदै रक्षामन्त्री पोखरेलले भन्नुभयो, “यो काम सम्पन्न गर्ने सिलसिलामा छुट्न गएका पीडितहरूका लागि के गर्नुपर्ने हो, त्यसका लागि औपचारिक निर्णय गर्छौं, यो वचन म तपाईंहरू समक्ष राख्न चाहन्छु ।”

त्यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रशासनिक कमी कमजोरीका कारण बारामा केही पीडित घर निर्माणबाट वञ्चित हुनुपरेको प्रसङ्ग उठाउनु भएको थियो । नेपाली सेनाले राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षा मात्र नभई विकासनिर्माण र राज्यलाई विपत् परेको बेला सदैव जनता र देशका लागि योगदान पु¥याउँदै आएको बताउनुहुँदै रक्षामन्त्री पोखरेलले नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले तोकिएको समयभित्रै घर निर्माण गरी हस्तान्तरण गरेकोमा सेनालाई धन्यवाद दिनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले गएको चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीले पु¥याएको क्षति र स्थानीयले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थाबाट मुक्ति दिन सरकारको निर्देशनअनुरूप सेनाले घर निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । उहाँले बाराका ८०७ र पर्साका ६२ गरी ८६९ घरको प्रमाणपत्र तथा नक्साको कागज रक्षामन्त्री पोखरेललाई हस्तान्तरण गर्नुभयो । मन्त्री पोखरेलले प्रदेश २ का मुख्यमन्त्री राउतलाई सो प्रमाणपत्र हस्तान्तरण गर्न‘भएको थियो ।

लागत प्रतिघर झन्डै पाँच लाख

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले हावाहुरी पीडितले घरको लागत प्रतिघर चार लाख ८५ हजार रुपियाँ रहेको प्रतिवेदन पेस गरेको छ । सरकारले प्रतिघर निर्माणका लागि पाँच लाख ४५ हजार ९८५ रुपियाँ ८८ पैसाका दरले रकम उपलब्ध गराएको थियो । कटिन्जेन्सी र निर्माण सामग्रीबाट सेनाले प्रतिघर ६१ हजार एक सय रकम बचत गर्न सफल भएको छ । सेनाको जनता आवास कार्यदलले निर्माण गरिदिएको घरमा दुई कोठा, एक भान्सा, एक शौचालय, बरण्डा छन् ।
गोरखापत्रबाट

Logo