प्रधानमन्त्रीको चासोपछि दूधको मूल्यवृद्धि स्थगित

प्रधानमन्त्रीको चासोपछि दूधको मूल्यवृद्धि स्थगित


दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी थियाे तर प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने बताइएकाे छ ।

साउन २९ गते गठित कार्यदलले सिजनअनुसार दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने सिफारिस गरेको थियो । एकैपटक प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने भन्दै दूधको मूल्य बढाउने विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

‘समयानुकूल मूल्य बढाउनु स्वाभाविक नै भए पनि चाडपर्वको मुखैमा एकैपटक धेरै मूल्य बढाउँदा नराम्रो सन्देश जाने भन्दै प्रधानमन्त्रीले मूल्य बढाउन राेकिदिएका छन्,’ प्रधानमन्त्री कार्यलय स्रोतले भन्यो ।

कार्यदलले सिफारिस गरेको झण्डै दुई सातासम्म पनि मन्त्रालयले दूधको मूल्य बढाउनेबारे निर्णय लिन नसकिरहेकाे सन्दर्भमा  कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले भने थोरै मात्र भए पनि मूल्य बढाउन चाहिरहेका थिए ।

कार्यदलले तोकेेका दुई सिजनअनुसारको दुईथरी मूल्यबारे गहन छलफल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीको भनाइ छ ।

प्रवक्ता सुवेदी भन्छन् ‘चाडपर्वको मुखैमा बढ्ने मूल्यले उपभोक्तालाई मार नपरोस् भन्ने कुरामा मन्त्रालय सचेत छ । आन्तरिक गृहकार्य भइरहेको छ ।’

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले दुईथरी मूल्य सिफारिस गरेको थियो । प्रशोधित दूधको मूल्य कम उत्पादन हुने मौसम (लिन सिजन) मा हाल कायम प्रतिलिटर मूल्यमा १४.२९ प्रतिशत अर्थात् १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा हाल कायम मूल्यको ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा बढाउन सिफारिस गरेको थियो ।

कार्यदलको सिफारिस जस्ताकाे तस्तै कार्यान्वयन भएको खण्डमा असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ हुनेछ भने चैतदेखि भदौसम्म प्रतिलिटर ९० रुपैयाँ पुग्नेछ । मन्त्रालयले दूग्ध विकास संस्थानलाई मूल्य बढाउन निर्देशन दिएपछि संस्थानको बोर्ड बैठकले मूल्यबारे निर्णय लिनु पर्ने हुन्छ ।

Logo