ओली-नेपालको भनाभनप्रति राष्ट्रपतिको चासो

ओली-नेपालको भनाभनप्रति राष्ट्रपतिको चासो


काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टीभित्र सतहमा आएको विवादको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो राख्नु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति भण्डारीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शितल निवास बोलाएर यस्तो चासो राख्नु भएको हो।

पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहँदै आउनु भएका प्रचण्डसँग आइतबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले मिलेर अगाडि बढ्न सुझाव दिनु भएको थियो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले दुवै अध्यक्ष मिले मात्रै पार्टी सही दिशामा जाने भन्दै सहमतिमै चल्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति निवास शीतल निवासमा झन्डै दुई घण्टा भएको भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताइएको छ । भदौ ५ गते बसेको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा पनि प्रचण्डले बैठक बोलाउने र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको थियो ।

एकताको १५ महिनापछि कार्यकारी अधिकार पाएका प्रचण्डले सो अधिकार पाए लगत्तै राष्ट्रपति भण्डारीलाई भेट्नु भएको हो । केही दिन अघि बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पदीय बाँडफाँड र मर्यादाक्रमलाई लिएर निकै चर्काचर्की भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo