काभ्रेको नमोबुद्धमा रहेका आठवटा ईंटा उद्योगमा नगरपालिकाले डोजर चलायो

काभ्रेको नमोबुद्धमा रहेका आठवटा ईंटा उद्योगमा नगरपालिकाले डोजर चलायो


काभ्रे,

स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै काभ्रेको नमोबुद्ध नगरपालिकाले आइतबार आठ वटा ईंटा उद्योगमा डोजर चलायो । नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम भन्दै आलोचना गरेका छन् ।

इँट्टा उद्योगहरू बन्द गर्न व्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरेपछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा डोजर चलाएको हो । ‘वातावरण मैत्री हुन पटक–पटक दिइएको अल्टिमेटम नमानेकै कारण अघिल्लो वर्ष नै भट्टा बन्द गर्ने निर्णय गरेका थियौं’, नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो– ‘हामी निर्वाचित भएर आएको पहिलो बैठकले सबै उद्योग बन्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको थियो ।’

२०७४ साल जेठमा निर्वाचित जनप्रतिनिधिको पहिलो बोर्ड बैठक भदौ ११ गते बसेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न पटक–पटक गरेको अनुरोधलाई व्यवसायीहरूले लत्याउँदै आएका थिए । बरु नगरपालिकाको अनुमतिबिना अन्य उद्योगहरू धमाधम सञ्चालन भएका थिए । मरिसकेका व्यक्तिको नाममा रहेको उद्योग पनि नामसारी गरी सञ्चालनमा आयो ।

यसअघि भट्टा उद्योगबाट निस्किएको कालो धूवाँ र दूषित कणले स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको प्रमाणसहित नगरपालिकामा ३३ वटा संस्थामा आबद्ध सयौं व्यक्तिले ज्ञापनपत्र बुझाएका थिए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विभागका प्राविधिक उपसचिव पदमिरा डंगोलले वातावरण संरक्षण ऐन, २०५३ अन्तर्गत नमोबुद्ध नगरपालिकाभित्र रहेका कुनै पनि भट्टाहरू मापदण्ड अनुरूप नरहेको प्रतिवेदन बुझाउनु भएको थियो ।

 

काभ्रे जिल्लाले यस प्रकारको क्रान्तिकारी कदम चालेपछि छिमेकी भक्तपुर जिल्लालाई दबाब सिर्जना भएको छ। उपत्यकाभित्र प्रदूषण फैलाएको र बालमजदुरबाट काम लिएको भन्दै भक्तपुरका इँटा उद्योगहरूको आलोचना हुँदै आएको छ ।
नेपाल समाचारपत्रबाट

Logo