अरूसँग आफ्नो तुलना गर्न छाडौँ, अनि बढ्छ आत्मसम्मान !

अरूसँग आफ्नो तुलना गर्न छाडौँ, अनि बढ्छ आत्मसम्मान !


हामीमध्ये ९९ प्रतिशत व्यक्तिले कम्तीमा पनि एकजना त्यस्ता मानिसलाई भेटेका हुनसक्छौँ जो कुनै न कुनै रूपमा हामीभन्दा उत्कृष्ट छन् । त्यो सुन्दरतामा, चतुरतामा, खेलकुदमा, पढाइमा वा अन्य जेसुकैमा हुनसक्छ । शायद उसलाई मानिसले हामीलाई भन्दा बढी रुचाउँछन् पनि । हुनसक्छ, ऊ हामीभन्दा स्वस्थ छ वा उसको जागिर हाम्रोभन्दा राम्रो छ । ऊ हामीभन्दा सफल छ वा उसका साथीसर्कल हाम्रोभन्दा ठूलो छ । शायद ऊसँग हामीसँग भन्दा बढी सरसामान र सम्पत्ति छ, पैसा छ, बंगला छ, सानदार गाडी छ वा केही नभए पनि ऊ हामीभन्दा बढी खुसी छ ।

के यी सबै कुरामा हामी आफूलाई अरूसँग दाँज्छौँ ? हिजोआज हरेकलाई पर्फेक्ट बन्नु छ, अरूसँग आफ्नो तुलना नगरी रहन कठिन छ । अरूसँग आफ्नो तुलना गर्नु सामान्य कुरा हो र यसबाट जलन पैदा हुनु पनि सामान्य मानवीय गुण नैै हो । तर जब तपाईं आफ्नो असक्षमताका बारेमा नसोची केवल आफ्ना कमजोरीहरू नियालेर दुःखी बन्नुहुन्छ, त्यतिबेला तपाई गलत बाटोमा हिँड्दै हुनुहुन्छ । हामीले आफ्ना उपलब्धि एवं दक्षताहरूमाथि मात्र ध्यान दिन थाल्ने हो भने हामी वास्तवमै प्रगतिपथमा अघि बढ्न सक्छौँ ।

आफूलाई आफ्नै दृष्टिबाट हेर्न थाल्नेबित्तिकै तपाईंले अरूसँग आफ्नो तुलना गर्ने बानीबाट छुटकारा पाउन सक्नुहुन्छ । तसर्थ आफ्ना लागि केही यस्तो लक्ष्य निर्धारित गर्नुहोस् जसबाट तपाईंको आत्मसम्मान वृद्धि होस् र आफूप्रतिको आफ्नो विचारलाई राम्रो बनाउने तरिका पनि सिकियोस् ।

आफूसँग जे छ त्यसको प्रशंसा गर्नुहोस्

तपाईंले आफूसँग जे छ त्यसको प्रशंसा गर्नुभयो, त्यसबाट खुसी हुनुभयो भने तपाईं आफ्नो ध्यान अरूबाट हटाएर आफूमा केन्द्रित गर्न सक्नुहुन्छ । तसर्थ आफ्नो बढीभन्दा बढी समय आफूसँग भएका सकारात्मक एवं राम्रा कुराहरूको बारेमा सोच्नमा लगाउनुहोस् । केही समयपछि नै तपाईंलाई आफ्नो ध्यान अरूबाट हटेर आफूतर्फ केन्द्रित हुन थालेको महसुस हुन थाल्नेछ ।

जे हासिल गरिएको छ त्यसको सूची बनाउनुहोस्

हासिल गरिएको उपलब्धिहरूको सूची बनाउनु आफूसँग के के कुरा छन् भन्ने कुराको सम्झना राखिराख्ने राम्रो तरिका हो । यसबाट तपाईंले भुलिसकेका आफ्ना उपलब्धिहरूमाथिसमेत आफ्नो ध्यान लगाउन सक्नुहुनेछ । अब तपाईंले तिनको प्रशंसा पनि गर्न पाउनुहुनेछ । यति भएपछि आफ्ना केही अति राम्रा क्षणहरूका बारेमा सोच्नुहोस् ।

आफ्ना लागि कडा नबन्नुहाेस् 

तपाईं आफ्ना लागि दयालु र कम कठोर बन्नुभयो भने तपाईं छिटै अघि बढ्न सक्नुहुन्छ र यसबाट तपाईंलाई कडा मेहेनत गर्ने प्रेरणासमेत प्राप्त हुन्छ । त्यसैले आफ्ना लागि कडा नबन्नुहाेस् ।

सम्झनुहोस् कि तपाईं आफ्नो जीवनको सबै निर्णय आफैँ लिनुहुन्छ

आफूलाई अरूहरूसँग तुलना गर्नबाट रोक्न ज्यादै कठिन छ । तपाईं आफ्नो जीवनलाई कुन बाटोमा लैजान चाहनुहुन्छ, त्यसका सबै विकल्प तपाईंले नै तय गर्नुहुन्छ । तपाईं नै आफ्नोे जीवनको सम्पूर्ण निर्णय लिनुहुन्छ र यो सबै तपाईं आफ्नै लाागि गर्नुहुन्छ न कि अरूका लागि । अरू मानिससँग के छ र के छैैन भन्ने कुराले तपाईंलाई कुनै अर्थ राख्दैन । तपाईंको जीवनमा केही चिजले अर्थ राख्छ भने त्यो चिज तपाईं स्वयं हुनुहुन्छ ।

Logo