श्रीमानको हत्या गर्न साढे ४ लाखको सुपारी, बहिनी मार्फत बोलाइन् हत्यारा

श्रीमानको हत्या गर्न साढे ४ लाखको सुपारी, बहिनी मार्फत बोलाइन् हत्यारा


जनकपुरधाम । गत असार ३१ गते सरोज भनिने श्रवण थापाको शव बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका ३ मूर्तिपार्क नजिकै फेला पर्‍यो । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय थापाको शव फेला परेसँगै प्रहरीले अनुसन्धानलाई तीब्रता दियो । अन्ततः प्रहरी अनुसन्धान उनकै श्रीमती पूजा थापातर्फ मोडियो ।

थापाको हत्या उनकै श्रीमती पूजाको मिलोमतोमा भएको प्रहरीले जनाएको छ । पूजाले श्रीमानको हत्या गर्न बहिनीमार्फत पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिइन् ।

श्रीमानको हत्या गर्न उनले बहिनी मार्फत योजना बनाएकी थिइन् । बहिनीले साढे चार लाख रुपैयाँमा सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई हत्या गर्ने जिम्मा दिइन् । जिम्मा पाए अनुसार उनीहरूले श्रवणको हत्या गरेर मूर्तिपार्क नजिकै शव फालिदिए ।

गौरीडाँडाको स्मृतिपार्क नजिकै मध्यरातमा शव फेला परेको थियो । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले थापाको शव फेला पारेको थियो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको थियो । शव नजिकै थापाको प्रदेश–०२–००१ प ३०५४ नम्बरको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको दुर्घटनामा ज्यान गएको आशंका गरेको थियो ।

घटना भएको पाँच सातामा प्रहरीले चारै जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले पूजाले श्रीमानको हत्या गराउन पूजाले आफ्नी बहिनीमार्फत पेशेवर अपराधी बोलाएको खुलेको जानकारी दिए ।

श्रवणको हत्या गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको हत्या गराएको खुलेको बताए । यतिबेला पूजा फरार छन् । उनी पक्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ ।

श्रीमानले कुटपिट गर्ने, गालीगलौज गर्ने गरेको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो सँगै रकमको विषयमा पनि विवाद हुन सक्ने प्रहरी आशंका छ । हत्या हुनु केहिदिन अघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नजाओस् भन्नका लागि पनि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo