रविको बयान आज, पोष्टमार्टमबाट शालिकरामको आत्महत्या पुष्टि

रविको बयान आज, पोष्टमार्टमबाट शालिकरामको आत्महत्या पुष्टि


काठमाडौं,

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ । उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ ।

आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ । तर सडकमा उर्लेको भीडले कतै दुर्घटना त निम्त्याउँदैन भन्नेतर्फ सजक हुन जरुरी देखिन्छ । सडकमा देखिएको भीडलाई मध्यनजर गरी चितवन कांग्रेसले एक विज्ञप्ति नै निकालेको छ ।

‘माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी र त्यस घटनाको सन्दर्भमा अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछाने लगायत तीन जनालाई प्रहरी हिरासतमा राखिएबाट चितवन जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’ –जितनारायण श्रेष्ठ सभापति र उत्तम जोशी सचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शान्तिपूर्ण रुपमा सभा, सम्मेलन र जुलुसमार्फत आफ्ना जायज मागहरूको पक्षीकरण गर्न पाउने संवैधानिक अधिकारको प्रत्याभूति हुन सकोस् भन्दै जनतामा सरकारप्रतिको विश्वास घट्दै गइरहेको बेला सम्बन्धित पक्षलाई सचेत रहन चितवन कांग्रेस आग्रह गरेको छ ।

घटनामा गम्भीर अध्ययन र अनुसन्धानको आधारमा सत्यतथ्य छानविन गरी पीडितलाई न्याय तथा निर्दोष नपरून् र दोषी नछुटून् भन्ने मान्यता स्थापित गर्न माग पनि गरिएको छ ।

शालिकराम पुडासैनीको मृत्यु हत्या हो कि आत्महत्या के हो भन्ने विषयमा बहस चलिरहेको छ । संघीय प्रहरी प्रवक्ताले यस विषयमा हत्या हो कि आत्महत्या अनुसन्धानकै बिषय रहेको भनी बताइरहनु भएको छ । सडकमा देखिएको भीड, रविका समर्थक, सार्वजनिक भएको भिडियोको प्रकृति आदि हेर्दा रवि दोषी ठहरिने सम्भावना दुर्बल छ ।

यता पत्रकार शालिकराम पुडासैनीले आत्महत्या नै गरेको उनको पोष्टमार्टम रिपोर्टले देखाएको छ । उनको घाँटीको हड्डी खुस्किएको छ भने नजिकैको पसलबाट उनले आत्महत्या गर्ने नियतले डोरी किनेको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo