चितवन प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार, एक दर्जन प्रहरी घाइते (भिडियोसहित)

चितवन प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार, एक दर्जन प्रहरी घाइते (भिडियोसहित)


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा प्रहार भएको छ । शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रबि लामिछानेका समर्थकहरूले प्रहरी कार्यालयमा शुक्रबार साँझ ढुंगामुढा प्रहार गरेका हुन् ।

प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगामुढा र रड प्रहार हुँदा एक दर्जन प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चौकीभित्र ढुंगामुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ । एसपी मल्लका अनुसार रबिको रिहाईको माग गर्दै बिहानैदेखि आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरूले ढुंगामुढा प्रहार गरेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । शुक्रबार दिनभरजसो रबिका समर्थकले चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए । उनीहरूले हाम्रो रबि प्राण भन्दा प्यारो छ, रबिलाई तत्काल रिहा गर जस्ता नारा समेत लगाएका थिए ।

Logo