पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा काश्मिर भ्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा काश्मिर भ्रमण


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन् ।

प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु काश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुबै मुलुकबीच तनाबको स्थिति छ । पाकिस्तानले भारतको यस कदमका विरुद्ध अन्तर्राष्ट्रिय कुटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपतकालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुई देशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ ।

विज्ञहरुका अनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन । यसैसाताको शुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रिय जगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए ।

अगष्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनका क्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।

Logo