विद्युत् प्राधिकरण ७ अर्ब २० करोड नाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

विद्युत् प्राधिकरण ७ अर्ब २० करोड नाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता


काठमाडौं,

सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्ष यता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/ ७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा आव २०७५ /७६ को तुलनामा १४९ प्रतिशतले खुद मुनाफा आर्जन गरेको छ । प्राधिकरणले गत आवमा सात अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको छ । आव २०७४/ ७५ मा प्राधिकरणको खुद मुनाफा दुई खर्ब ९० करोड रहेको थियो ।

सुझबुझपूर्ण राजनीतिक नेतृत्व, कुशल तथा सक्षम व्यवस्थापक भएमा घाटामा रहेका संस्थान पनि नाफा कमाउन सक्छन् भन्ने उदाहरण दिन प्राधिकरण सफल भएको छ । त्यस्तै प्राधिकरणले चुहावट नियन्त्रणमा पनि आफूलाई दह्रोसँग उभ्याउँदै आएको छ ।

तीन वर्षको तथ्याङ्क हेर्दा प्राधिकरणको चुहावट निरन्तर न्यूनीकरण हुँदै आएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा राख्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको २०.७८ प्रतिशतको तुलनामा ५.१३ प्रतिशतले कमी हो । आव २०७२ /७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेकामा तीन वर्षभित्र १०.४६ प्रतिशतले कमी आएको छ ।

प्राधिकरणको वार्षिक उपलब्धिका बारेमा जानकारी दिन मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणमा झण्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगिएको बताउनुभयो । “दक्षिण एसियाली मुलुकमा करीब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ, हामी करीब सो मापदण्डमा टेक्ने अवस्थामा पुगेका छौँ” उहाँले भन्नुभयो, “चुहावट घटाउन सक्ने अवस्थामा छौँ, चुहावट रोक्न प्राविधिक सुधार गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ ।” चुहावट नियन्त्रणमा उल्लेख्य सफलता मिलेकाले पनि खुद नाफा वृद्धिमा टेवा पुगेको हो ।
रासस

Logo