खुकुरी बनाउनेको कथा (भिडियो सामाग्री)

खुकुरी बनाउनेको कथा (भिडियो सामाग्री)


सुरक्षाकालागि कम्मरमा खुकुरी भिरेर हिडिन्छ भन्ने कुरा कथा भइसकेको छ । तर, त्यही कथामा नेपालीहरुको वीरता लुकेको छ ।

सिरुपाते खुकुरी धेरै चलेको भएपनि भोजपुरे, धनकुटे, सल्यानी, चित्लाङी खुकुरी संसारले चिनेका खुकुरीका ब्राण्ड हुन् । खुकुरीको कुरा गर्न हामी भोजपुर, धनकुटा, सल्यान वा चित्लाङ कतै नगएर काठमाडौंको मुटु हनुमानढोका दरबार आसपासमा रहेको ‘द ग्रेट गोर्खा खुकुरी शप’ मा पुग्यौ । पसलका संचालक हुन् ताराकुमार दर्नाल।

बुबाले खुकुरी बनाउने आरन वरिपरि घुम्दाघुम्दै र घनमा हात लगाउँदा लगाउँदै ताराले पनि फलाम गालेर हतियार बनाउन सिके । अहिले त्यही पुर्ख्यौली पेशा अंगालेर तारा गौरवका साथ यो काम गरिरहेका छन् ।

उनलाई खुकरीको इतिहास पनि राम्रोसँग थाहा छ । अंग्रेजसँग खुकुरीकै कारणले हामीले युद्ध जितेको कथा पनि उनले कण्ठ गरेका छन् । अझ लिगलिगमा द्रब्यशाहले दौडजित्नुको भित्री रहस्य खुकुरी हो, भन्ने पनि ताराले कथाको रुपमा याद गरिनैरहेका छन्।

हामी उनको डल्लुपुलमा रहेको खुकुरी उद्योगमा पनि पुग्यौं। ताराको फ्याक्ट्रीमा बनेका ९९ प्रतिशत खुकुरी विदेश जान्छ । अमेरिका, अष्ट्रेलिया र युरोप जत्तिकै हो, चाइना पनि । र, अर्को पनि तथ्य छ, उनीसँग । ९९ प्रतिशत खुकुरी गिफ्ट दिनकोलागि खरिद गरिन्छ । विदशी मात्र होइन, नेपालीहरु समेत गिफ्टकालागि खुकुरी नै मन पराउँछन् ।

खुकुरीसँग ताराको सम्बन्ध नङ र मासुको जस्तै भएको छ । प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामाग्री।

Logo