कसरी भए शकुनि नामूद जुवाडी, थाहा छ तपाईंलाई ?

कसरी भए शकुनि नामूद जुवाडी, थाहा छ तपाईंलाई ?


नेपालमा जुवातास खेल्न प्रतिबन्ध छ । खासमा यो रमाइलो लागि खेलिने खेल हो । तर, यसमा पैसाको सौदावाजी हुन्छ जसले मान्छेलाई क्षणभरमै कंगाल बनाइदिन्छ । त्यही कारण यो सामाजिक विकृतिको रूपमा रहेको छ ।

जब जुवातासको कुरा आउँछ, हाम्रो मनमा महाभारतका एकजना पात्रको नाम स्मरण हुन्छ । उनी हुन्, शकुनि । कपट र जालझेलको सन्दर्भमा पनि शकुनिकै नाम आउँछ । खासरगरी शकुनि पासाको ।

शकुनिको पासा : एक रहस्य

धेरै कम मानिसलाई मात्र जानकारी हुनसक्छ, शकुनिसँग जुवा खेल्नका लागि त्यस्तो पासा थियो जुन उनको मृत पिताको मेरुदण्डको हड्डीबाट बनाइएको थियो । आफ्नो बाबुको मृत्युपछि बाबुकै निर्देशअनुसार शकुनिले उनको हड्डीबाट पासा बनाएका थिए । शकुनि जुवाको खेलमा पारंगत थिए । उनले कौरवहरूलाई पनि जुवाप्रति मोह जगाइदिएका थिए ।

शकुनिको यस्तो चालका पछाडि पाण्डवहरूको मात्र नभई कौरवहरूको समेत भयंकर विनाश लुकेको थियो किनभने शकुनिले कौरव कुलको समूल विनाश गर्ने कसम खाएका थिए । यसका लागि उनले दुर्योधनलाई आफ्नो हतियार बनाएका थिए ।

शकुनि हरेक समय त्यस्तो अवसरको खोजीमा रहन्थे जहाँ कौरव र पाण्डव दुई पक्षबीच भयंकर युद्ध होस् र समस्त कौरव कुलको           नास होस् ।

शकुनिको षडयन्त्र

युधिष्ठिर हस्तिनापुरका युवराज घोषित भएपछि शकुनिले नै लाक्षागृहको षड्यन्त्र रचे र सबै पाण्डवलाई वारणावतमा जिउँदै जलाएर मार्ने प्रयत्न गरे ।

शकुनि जे गरेर भए पनि दुर्योधनलाई हस्तिनापुरको राजा बनाउन चाहन्थे ताकि दुर्योधनमाथि आफ्नो मानसिक आधिपत्य रहोस् र त्यही मुर्ख दुर्योधनलाई प्रयोग गरेर भीष्मसहित सम्पूर्ण कुरुकुलको विनाश गर्न सकियोस् । अतः उनले दुर्योधनको मनमा पाण्डवप्रति वैरभाव जगाए र उसलाई सत्तालोलुप बनाइदिए ।

शकुनिको पासामा बाबुको आत्मा !

एक मान्यताअनुसार शकुनिको पासामा उनका पिता गान्धारराज सुबलको आत्माले वास गर्थ्यो । त्यसकारण उक्त पासा शकुनिले जे भन्यो त्यही मान्दथ्यो ।

भनिन्छ, शकुनिको पिताले कौरवहरूको कैदमा मर्नुअघि शकुनिसँग भनेका थिए, ‘म मरेपछि मेरो हाडबाट पासा बनाउनू, त्यो पासाले सदैव तिम्रो हरेक आज्ञा पालन गर्नेछ, तसर्थ कसैले पनि तिमीलाई जुवामा हराउन सक्नेछैन ।’

शकुनिको पासामा जीवित भमरा !

अर्को भनाइ अनुसार शकुनिको पासाभित्र एउटा जीवित भमरा थियो, जो हरेक पटक शकुनिको गोडाछेउमा आएर खस्थ्यो । ऊ जहिले पनि छ अंक देखाउथ्यो । शकुनिलाई यो कुरो थाहा भएकाले हरेक पटक छ अंक नै भन्दथे । शकुनिको सौतेनी भाइ मटकुनिलाई पनि यो कुराको जानकारी थियो ।

हुन त शकुनिको बदलाको भावनाको यस्तो कथा वेदव्यासबाट लिखित महाभारतमा पाइँदैन । यो कथा लोककथा एवं जनश्रुतिमा आधारित छ । शकुनिको परिवारलाई धृतराष्ट्रले जेलमा हालेर खान नदिई भोकभोकै मारेका थिए ।

कतिपय विद्वानका मतमा शकुनिको पासा हात्तीदाँतबाट बनेको थियो । शकुनि मायाजाल तथा सम्मोहनको मदतले पासालाई आफ्नो पक्षमा पार्न सक्थे । उनी कहिलेकाहीँ पाण्डवको पक्षमा पनि पासा पारिदिन्थे ताकि पाण्डवहरू पासा सही छ भन्ने भ्रममा रहून् ।

जुवा खेल्नुपछिको कारण

शकुनिकै कारण महाराज धृतराष्ट्रका तर्फबाट पाण्डव तथा कौरवहरूका बीच भएको राज्य विभाजनमा पाण्डवहरूको भागमा बाँझो तथा सुख्खा जमिन पारियो । पाण्डवहरूले आफ्नो मेहनतबाट उक्त भूमिलाई इन्द्रप्रस्थमा बदले । हराभरा, उर्वर एवं मनोरम बनाइदिए ।

युधिष्ठिरले आयोजित गरेको राजसूय यज्ञका दौरान दुर्योधनलाई उक्त सहर हेर्ने अवसर मिल्यो । राजमहलमा प्रवेश गरेपछि एक विशाल कक्ष जहाँ पानी भरिएको थियो, त्यस भूमिलाई दुर्योधनले भ्रमवश पानीरहित भूमि ठानेर टेक्दा उनी पानीमा छ्वाप्लाक्क खसे । यो देखेर द्रौपदीले हाँसेर भनिन्, ‘अन्धाको छोरो अन्धो नै हुन्छ ।’ द्रौपदीकोे कुराले दुर्योधन साह्रै क्रोधित भए ।

दुर्योधनको मन राम्ररी बुझेको शकुनिले यसै कुराको फाइदा उठाउँदै पाण्डवहरूसँग पासा खेल्ने योजना बनाए । उनले आफ्नो योजना दुर्योधनलाई सुनाए र यो खेलबाट पाण्डवहरूलाई हराएर बदला लिन सकिन्छ भनी सहमत गराए । शकुनिले पाण्डवहरूलाई साह्रै प्रेमभाव देखाएर खेल्न बोलाए अनि दुर्योधनको पक्षबाट आफैंले युधिष्ठिरसँग पासा खेल्न थाले ।

खेलको शुरुआतमा पाण्डवहरूको उत्साह बढाउन शकुनिले चाल चले र केहीपटक युधिष्ठिरलाई जित्न दिए । पाण्डवहरूमा खेलप्रति राम्रै रस बसिसकेपछि शकुनिले आफैँ जित्न सुरु गरे । खेलको उत्साहमा फसेका युधिष्ठिरले आफ्नो सम्पूर्ण धनसम्पत्ति तथा साम्राज्य जुवामा गुमाए ।
अन्तमा शकुनिले युधिष्ठिरलाई आफ्ना भाइहरू तथा पत्नी पनि दाउमा थाप्न र जितेमा अहिलेसम्म हारेका सबै कुरा फिर्ता गर्ने शर्त तेर्स्याए । युधिष्ठिरले उक्त कुरा पनि माने र यो पटक पनि हारे । यो खेलमा भएको पाण्डव एवं द्रौपदीको अपमान नै अन्ततः महाभारत युद्धको प्रमुख कारण बन्यो ।

Logo