सङ्घीय संरचनामा जाने काँग्रेसको निर्णय

सङ्घीय संरचनामा जाने काँग्रेसको निर्णय


ललितपुर,
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राज्यको सङ्घीय संरचना अनुसार नै पार्टीको नयाँ संरचना बनाउने निर्णय गरेको छ । अब काँग्रेसको संरचना पार्टीको विधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार हुनेछ । नयाँ संरचनामा जाँदा सबै कार्यकारी समितिमा महिलाको सङ्ख्या कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुनेछ ।

यसैगरी संस्थापन इतरका केन्द्रीय सदस्यहरूले जारी बैठकबाटै महाधिवेशनको कार्यतालिका बनाउनु पर्ने अडान राखे पनि मङ्सिर मसान्तपछि बस्ने बैठकबाट टुङ्ग्याउने निर्णय गरेको हो । ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको विभाग तथा समितिहरू गठनका लागि निर्देशिका बनाएर अर्को बैठकमा पेस गर्न निर्देशन दिएको छ । अर्को बैठक साउन २२ गते बस्नेछ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार बैठकले अन्तरिम व्यवस्थापन कसरी गर्ने सम्बन्धमा निर्देशिका बनाउने, १३ औँ महाधिवेशनमा प्रस्तुत गरिएको क्रियाशील सदस्यको सूचीलाई मङ्सिरभित्रै अद्यावधिक गर्ने र मङ्सिरपछि बस्ने बैठकले महाधिवेशनको कार्यतालिका बनाउने निर्णय गरेको छ ।

पार्टीको १३ औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताबारे निर्णय गरेको थियो । उक्त निर्णयमा पनि केही त्रुटि र अद्यावधिक गर्नुपर्ने भएकाले मङ्सिरसम्मको म्याद दिइएको विश्वकर्माले जानकारी दिनुभयो ।

शुक्रबार बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना संयोजन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले भने राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म चलेको थियो ।
गोरखापत्रबाट

Logo