हिन्दू धर्म के हाे ? यस सम्बन्धमा फैलाइएका भ्रम र वास्तविकता !

हिन्दू धर्म के हाे ? यस सम्बन्धमा फैलाइएका भ्रम र वास्तविकता !


  • दीपक दर्शन-

‘कृण्वन्तो विश्वमार्यम’ अर्थात् सम्पूर्ण संसारलाई नै श्रेष्ठ, सभ्य एवं सुसंस्कृत बनाउँछौँ । आर्यको अर्थ हुन्छ- श्रेष्ठ, सज्जन पुरुष, उत्तम पुरुष, सत्यबोध भएको पुरुष । सही मार्गमा हिँड्ने पुरुष । अब प्रश्न उठ्छ, आखिर किन र कसरी हिन्दू धर्म श्रेष्ठ धर्म हो ?

हिन्दू धर्मका विषयमा अहिले धेरै भ्रम छर्ने काम भइरहेको पाइन्छ । आफूलाई सत्य साबित गर्न चेष्टा गर्ने तत्वहरूबाट त्यसरी फैलाइएको भ्रान्तिले सीधासादा सर्वसाधारणहरू भ्रमित बनिरहेको अवस्था छ । जुन व्यक्तिले वेद, उपनिषद एवं गीतालाई राम्ररी मनन गरेर पढेको छैन र समाजमा प्रचलित धारणा वा सुन्ने सुनाउने क्रममा चलिआएका धर्मइतरका तर धार्मिकजस्ता लाग्ने भ्रमपूर्ण कुराहरूमा विश्वास गर्छ त्यस्तालाई मात्र प्रायोजित भ्रमले दिग्भ्रमित तुल्याउन सक्छ ।

जसले स्थानीय परम्परालाई नै हिन्दू धर्मको अंग मानेर बसेको छ त्यस्तालाई मात्र भ्रममा राखिरहन सक्छ । यहाँ त्यस्ता भ्रमहरू के के फैलाइएका छन् भन्ने विषयमा कुरा नगरी हिन्दू धर्म कसरी सर्वश्रेष्ठ हो भन्ने कुरामा मात्र चर्चा गरिएको छ ।

अनेक मार्गको जन्मदाता

संसारका सबै धर्म एकमार्गी छन् तर हिन्दू धर्म त्यस्तो धर्म हो जसले सत्यसम्म, आफूसम्म, मोक्षसम्म वा ईश्वरसम्म पुग्नका लागि अनेकौँ मार्गहरू निर्माण गरेको छ । उसले राजमार्ग बाहेक पनि अनेकौँ शाखा मार्गहरू बनाएको छ जसबाट मानिस सत्य र जीवनसम्म पुग्नसक्छ । व्यक्तिले आफ्नो  सुविधा र रोजाइअनुसार आफूलाई जुन मार्ग सहज लाग्छ त्यही मार्ग चयन गर्न सक्छ । उदाहरणका रूपमा हेर्ने हो भने हिन्दू धर्मग्रन्थमा ध्यानका लगभग ४ सय ५० भन्दा बढी विधि बताइएको छ ।

भक्ति मार्ग, ज्ञान मार्ग, सांख्य मार्ग, योग मार्ग, मूर्तिपूजाको मार्ग, एकेश्वरवादी मार्ग, सर्वेश्वरवादी मार्ग, देव-देवीवादी मार्ग, निराकारको प्रार्थना गर्ने मार्ग, ध्यान मार्ग आदि सयौँ प्रकारका आध्यात्मि मार्गका अतिरिक्त यसले तन्त्र, कोल, आयुर्वेद, ज्योतिष एवं नास्तिकताको मार्ग पनि छ है भनेर बताएको छ । हिन्दू धर्मको अचम्मलाग्दो खुबी के हो भने यसले नास्तिकतालाई समेत अध्यात्मका मार्गमा प्रथम सिँढी मानेको छ । यद्यपि हिन्दू धर्मले उक्त सबै मार्गमध्ये गीतामा बताइएको मार्गलाई नै प्राथमिकता दिन्छ । गीताको मार्ग नै वेदको मार्ग हो ।

महान् आविष्कार

धर्ममा केही त्यस्ता कुरा हुन्छन् जसलाई हेरेर वा जानेर हामी भन्न सक्छौँ कि यो धर्म हो । यसका लागि केही नियम बनाइन्छन् वा यस्ता कार्य सुरु गरिन्छन् जसको माध्यमबाट मानिस धर्ममा जोडिन सकोस् । यसका लागि ऋषिमुनिहरूले मानिसहरूलाई प्रायश्चित्त गर्न, दीक्षा दिन, १६ संस्कार, प्रार्थनालय बनाउनुपर्ने बताए ।

यसैगरी परिक्रमा गर्न, नसिलाइएका सेता वस्त्र लगाएर सन्ध्यावन्दन गर्न, सन्ध्यावन्दनको समय निश्चित गर्न, मानिसहरूलाई सन्ध्याका लागि बोलाउन घन्ट, शंख आदि संकेत बजाउन, प्रार्थनाभन्दा पहिले शौच शुद्धि गर्न, जप गर्न, माला गन्न, व्रतोपवास गर्न, तीर्थ जान, दानपुण्य  गर्न, पाठ गर्न, सेवा गर्न, धर्मप्रचार गर्न आदि सयौँ कर्म छन् जसलाई अन्य धर्मले समेत अनुसरण गरेका छन् । अझ आश्चर्यलाग्दो कुरा के छ भने उक्त सबै कार्यलाई हिन्दू धर्मले चार आश्रम व्यवस्थाभित्र समेटेको छ ।

महान् संस्थापक

सामान्यतः हिन्दू धर्मको कुनै संस्थापक छैन भनिन्छ । यद्यपि यो प्रश्नको जवाफ वेद, उपनिषद एवं गीतामा पाउन सकिन्छ । खासमा आम हिन्दूहरू गीता पढ्दैनन् त्यसैले यो कुराबाट अनभिज्ञ छन् । जसले पढ्छन् उनीहरूले पनि ध्यान दिएर पढ्दैनन् तसर्थ पढेकाहरूलाई पनि धेरै कुरा थाहा हुँदैन ।

चार ऋषिले वेद सुने…

अग्निवायुरविभ्यस्तु त्र्यं ब्रह्म सनातनम् ।

दुदोह यज्ञससिध्यर्थमृगयुः समलक्षणम् ।। मनु (१/१३)

जुन परमात्माले आदि सृष्टिमा मानिसलाई उत्पन्न गरेर अग्नि आदि चार ऋषिहरूबाट चारै वेद ब्रह्मालाई प्राप्त गराए । उनै ब्रह्माले अग्नि, वायु, आदित्य र अंगिरा बाट ऋग, यजु, साम तथा अथर्व वेदलाई ग्रहण गरे ।

सम्पूर्ण विश्वमा पहिले वैदिक धर्म नै थियो । पछि यस धर्मको दुर्गति हुन थाल्यो । मानिसहरू तथा तथाकथित सन्तहरूले मतभिन्नतालाई जन्माए र यो एकै प्रकारको धर्मका मानिस थुप्रै जाति एवं उपजातिमा बाँडिए । यी जातिवादी मानिसहरू वेद, वेदान्त एवं परमात्माप्रति आस्था-विश्वास राख्दैनथे । यसमा एक वर्ग आफूलाई वैदिक धर्मको अनुयायी एवं आर्य भन्दथ्यो भने अर्को जादू र टुनामुनामा विश्वास राख्ने तथा प्रकृतिका तत्वहरूलाई पुज्ने वर्ग थियो । दुवै वर्ग भ्रम एवं आपसी संघर्षमा बाँचिरहेको थियो किनभने वास्तविक अर्थमा उनीहरू दुवैलाई वैदिक धर्मसँग कुनै वास्ता थिएन ।

श्रीकृष्णको समयमा यस्ता ७२ भन्दा बढी समुदाय संसारमा आस्तित्वमा थिए । यस्तो अवस्थामा श्रीकृष्णले सबैलाई एकत्रित गरे र पुनः वैदिक सनातन धर्मको स्थापना गरे । भगवान् श्रीकृष्ण गीतामा अर्जुनसँग भन्छन्- यो मेरो परम्पराबाट प्राप्त ज्ञान पहिले सूर्यले प्राप्त गरे । सूर्यले वैवस्वत मनुलाई भने, वैवस्वत मनुपछि अन्य थुप्रै ब्रह्मषिर्हरू हुँदै यो ब्रह्म ज्ञान मसम्म आइपुग्यो ।

-ब्रह्मा, विष्णु, महेश सहित अग्नि, आदित्य, वायु एवंं अंगिराले यस धर्मको स्थापना गरे । क्रमशः उल्लेख गर्दा शिवबाट विष्णु, विष्णुबाट ब्रह्मा, ब्रह्माबाट ११ रुद्र, ११ प्रजापति एवं स्वायंभव मनुको माध्यमबाट यस धर्मको स्थापना भयो ।

यसको धार्मिक ज्ञान शिवका सात शिष्यमार्फत अलग अलग शाखाको निर्माण भयो । ‘वेदोखिलम् धर्ममूलम्’ अर्थात् वेद र मनु सबै धर्मका मूल हुन् । मनुपछि थुप्रै सन्देशवाहक आए र गए अनि यस ज्ञानलाई आआफ्नो  तरिकाबाट मानिसहरूसम्म पुर्‍याए । लगभग ९० हजार वर्षभन्दा पनि बढीको परम्परा भएको यो ज्ञान श्रीकृष्ण एवं गौतम बुद्धसम्म पुग्यो । यििद कसैले सोधिहालेछ कि हिन्दू धर्मका संस्थापक को हुन् ? भने भन्न सकिन्छ-ब्रह्मा हुन् पहिलो र श्रीकृष्ण अन्तिम । यसैभित्र पर्छन् अग्नि, वायु, आदित्य एवं अंगिरा पनि ।

-आदि सृष्टिमा अवान्तर प्रलयपछि ब्रह्मापुत्र मनुले धर्मको उपदेश दिए । मनुबाट शिक्षा पाएर भृगु, मरिचि, वशिष्ठ आदि ऋषिले वेदको शिक्षा दिए । यसको वाचिक परम्पराको उल्लेख मनुस्मृतिमा देख्न पाइन्छ ।

-शतपथ ब्राह्मणका अनुसार अग्नि, वायु एवं सूर्यले तपस्या गरेर ऋग्वेद, यजुर्वेद एवं सामवेद प्राप्त गरे ।

-पहिले ऋग्वेद मात्र थियो । पछि यजुर्वेद र अलि पछि सामवेदको सुरुवात भयो । यिनलाई वेदत्रयी भनिन्थ्यो । मान्यता अनुसार यी तीनै ज्ञानको संकलन भगवान् रामको जन्मभन्दा अघि पुरुरवा ऋषिको समयमा भएको थियो ।

-अथर्ववेदका विषयमा कुरा गर्दा यसको ज्ञान सबभन्दा पहिले ऋषि अंगिरालाई भएको थियो । पछि अंगिराबाट सुनेको अथर्ववेदको संकलन ऋषि अथर्वाबाट भयो । यसबाट हिन्दू धर्म दुई भागमा विभक्त भयो, एक जो ऋग्वेदलाई मान्दथे र अर्काथरीले अथर्ववेदलाई मान्दथे । यसरी चारवटै वेद अवतरण भयो ।

-कृष्णका समयमा महषिर् पराशरपुत्र कृष्ण द्वैपायनले वेदलाई चार भागमा बाँडे । उनले यी चार भागको शिक्षा चार शिष्य पैल, वैशम्पायन, जैमिनि र सुमन्तुलाई दिए । उनले पैललाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनिलाई सामवेद तथा सुमन्तुलाई अथर्ववेदको शिक्षा दिए ।  वेदलाई विभक्त गरेकैले कृष्ण द्वैपायनलाई वेदव्यास भन्न थालियो ।

-गीतामा श्रीकृष्णका माध्यमबाट परमेश्वर भन्छन्-मैले यो अविनाशी ज्ञान आदित्यलाई भनेँ, आदित्यले आफ्ना पुत्र वैवस्वत मनुलाई, वैवस्वत मनुले राजा इक्ष्वाकुलाई भने । यसप्रकार परम्पराबाट प्राप्त यो योगज्ञानलाई राजषिर्हरूले जाने ।

-परमेश्वरबाट प्राप्त यो ज्ञान ब्रह्माले ११ प्रजापति, ११ रुद्र एवं आफ्नै स्वरूप स्वायंभुव मनु र शतरूपालाई दिए । स्वायंभुव मनुले यो ज्ञान आफ्ना पुत्रहरूलाई दिए र क्रमशः स्वारोचिष, औत्तमी, तामस, रैवत, चाक्षुष मनु हुँदै वैवस्वत मनुलाई परम्पराबाट मिल्यो । अन्तमा यो ज्ञान श्रीकृष्णलाई प्राप्त भयो । अहिले वराह कल्पमा सातौँ मनु वैवस्वतको मन्वन्तर चलिरहेको छ ।

-ऋग्वेदको ऋचाहरूमा लगभग ४१४ जना ऋषिहरूको नाम पाइन्छ जसमा करिब ३० जना महिला ऋषि छन् । यसरी वेदलाई सुन्ने र सम्हाल्ने ऋषि तथा मनुहरू नै हिन्दू धर्मका संस्थापक हुन् ।

ब्रह्मवाद

एकेश्वरवादलाई नै ब्रह्मवाद भनिन्छ तर यो इब्राहिमी धर्मभन्दा धेरै अर्थमा फरक छ । हिन्दू धर्मका अनुसार ईश्वर एक मात्र छन् र अर्को ऊजस्तो कोही पनि ईश्वर छैन । यही ईश्वरलाई परमेश्वर, परमात्मा एवं परम सत्य भनिन्छ । ब्रह्मा, विष्णु र महेश ईश्वर होइनन् । माता पार्वतीका पति भगवान् शंकर पनि ईश्वर वा परमेश्वर होइनन् ।

हिन्दू धर्मको ब्रह्म, ईश्वर एवं भगवान् शब्दको फरक बुझ्नु आवश्यक छ । कुनै पनि भगवान् ईश्वर हुन सक्दैन । हो, उसलाई ईश्वर समान वा ईश्वर स्वरूप भने पक्कै मानिएको छ । हिन्दू धर्ममा ब्रह्मवादलाई बुझ्न केही कठिन छ । सामान्यतः ईश्वरलाई सृष्टिकर्ता एवं हाम्रो न्याय गर्नेवाला मानिएको छ तर हिन्दू धर्मअनुसार ईश्वरले यस्तो केही पनि गर्दैन । ऊ हुनु मात्रबाटै सृष्टि छ र ऊ कर्ताधर्ता होइन ।

ईश्वर छ र ईश्वर हुनु । यी दुई वाक्यमा फरक छ । हिन्दू धर्मअनुसार ईश्वर हुनु हो । ऊ सूर्यको प्रकाशसमान छ जसले प्रकाशित हुँदा कसैलाई भेदभाव गर्दैन । उसको प्रकाशको छत्रछाया वा भनौं क्षेत्रभित्र जो आउँछ ऊ प्रकाशित हुन्छ । उसैगरी जो व्यक्तिले ब्रह्मलाई जान्दछ अनि मान्दछ ऊ कुनै पनि प्रकारले दुःखी हुँदैन । हामीले अन्धकारबाट निस्केर त्यो ब्रह्म प्रकाशसम्म आउने प्रयास गर्नुपर्छ ।

रहस्यमयी धर्म

स्वप्न, जाग्रत एवं सुषुप्तिमाथि थुप्रै प्रकारका शोध, सपनाका थुप्रै प्रकार बताइए जसमा भाविक अर्थात् जो भविष्यमा घटित हुनेवाला छ, त्यसलाई देख्नु महत्वपूर्ण छ । हिन्दूहरूले चन्द्रमाको घटबढसँगै मानिस एवं प्रकृतिमा हुने परिवर्तन जाने, पूणिर्मा एवं औंसीको रहस्य उजागर गरे, भोजनबाट कसरी मन एवं भविष्यको निर्माण हुन्छ त्यो रहस्य बताए ।

मनभन्दा पर पनि अर्को मन हुन्छ जसलाई जानेर मानिस थुप्रै चामत्कारिक शक्तिको मालिक बन्नसक्छ भन्ने रहस्य उजागर गरे । मनका पनि तीन प्रकार छन् : चेतन, अवचेतन र अचेतन । ध्यान गर्नाले र मौन रहनाले के हुन्छ भन्ने रहस्य उजागर गरे । यज्ञबाट कसरी वषर्ा नियन्त्रित गर्न सकिन्छ र कसरी बढीभन्दा बढी अक्सिजन निर्माण गर्न सकिन्छ भन्ने रहस्यलाई बताए ।

हिन्दूहरूले यीबाहेक पनि नागलोकको रहस्य, पारसमणि, संजीवनी बुटी, कल्पवृक्ष, कामधेनु, यति, सोमरस, सुन बनाउने विधि, अमृत कलश, विशालकाय मानिस, ब्रह्मास्त्र, सुदर्शन चक्र, त्रिशूल, इच्छामृत्यु, इच्छाधारी सर्प, वरदान, श्राप, गरुडजस्तो वाहन, दशटाउके रावण, हजारटाउके सहस्रार्जुन, आत्माको पुनर्जन्म, सृष्टि उत्पत्ति, सृष्टि चक्र, जीवन चक्र आदि हजारौँ त्यस्ता कुरा गरे जो रहस्यले भरिएका छन् । यी सबै कुराको उल्लेख वेद एवं पुराणहरूमा पाउन सकिन्छ ।

यसका साथै थुप्रै रहस्यमयी विद्याको चर्चा गरिएको छ, जसमा सम्मोहन विद्या, कसैको आवाहन गर्नु, प्राण विद्या, ज्योतिष, वास्तु, हस्तरेखा, सामुदि्रक शास्त्र, तन्त्र, मन्त्र, यन्त्र आदि कुराको उल्लेख पाइन्छ । यसबाहेक श्मसान साधना, कर्णपिशाचिनी साधना, वीर साधना, वेताल साधना, प्रेत साधना, अप्सरा साधना, यक्ष साधना एवं तन्त्र साधनाहरूका विषयमा पनि उल्लेख पाइन्छ ।

यसका साथै सिद्धिहरूको प्रकार एवं उनीहरूलाई प्राप्त गर्ने विधिहरूको उल्लेख धर्मशास्त्रमा पाइन्छ । अरूको मनको कुरा जान्नु, शरीरबाट बाहिर निस्केर घुम्नु, कसैलाई वशमा पार्नु, अन्तर्ध्यान हुनु, हात्तीजस्तै बलियो हुनु, कैयौं वर्षसम्म अन्नजल ग्रहण नगरी बाँच्नु, अत्यधिक चिसो वा तातो स्थानमा सहजै बस्नसक्नु, हजारौं किलोमिटर टाढा देखन वा सुन्न सक्नु, सूक्ष्म संसारलाई देख्न सक्नु, त्रिकाल सिद्धि, पूर्वजन्मको कुरा थाहा पाउनु, त्राटक शक्ति, अरूको शरीरमा प्रवेश गर्नसक्नु, पशुपक्षीको भाषा बुझ्नजस्ता हजारौँ सिद्धिहरूको वर्णन पाइन्छ ।

संसारको प्रथम धर्म

ऋग्वेद संसारकै पहिलो लिखित पुस्तक हो जुन ईसापूर्व १८०० देखि १५०० का बीचमा लेखिएको मानिन्छ । जब कि वेद यसभन्दा हजारौं वर्षअघिदेखि श्रुति एवं वाचिक परम्पराका माध्यमबाट जीवित रहँदै आएको थियो । लिपिको आविष्कारपछि मात्र यसलाई लेखिएको थियो । यो त्यही समय थियो जतिबेला अरब जगतमा पैगम्बर इब्राहिम यहुदी धर्मको आधार खडा गर्दै थिए । त्यसपछि लगभग ईसापूर्व १३०० ताका पैगम्बर मूसाले यहुदी धर्मलाई स्थापित रूप दिए । उनीभन्दा अघि नूह र सबैभन्दा अघि आदम थिए । शोधकर्ताहरूका अनुसार प्रथम मानवको उत्पत्ति भारतवर्षमा भएको थियो र उनी स्वायंभुव मनु थिए ।

श्रीरामको जन्म ईसापूर्व ५११४ मा भएको भएको मानिन्छ । उक्त समयमा पनि वेद प्रचलित थियो जसलाई श्रुति पनि भनिन्छ । अनुमानित ब्रह्माको ३९ औं पुस्तामा सूर्यवंशी भगवान् रामको जन्म भएको मानिन्छ । यसको मतलब रामभन्दा पनि हजारौं वर्ष अघिबाट यो धर्म प्रचलनमा रहेको मानिन्छ । यस्तै अर्को शोधअनुसार भगवान् श्रीकृष्णको जन्म चन्द्रवंशमा भएको थियो । ब्रह्माको ७ औं पुस्तामा राजा यदु भएका थिए भने उनको ५९ औँ पुस्तामा श्रीकृष्ण भएका थिए ।

ब्रह्माको छैटौँ पुस्तामा राजा ययाति भएका थिए । उनका प्रमुख पाँचजना पुत्र थिए – पुरु, यदु, तुर्वसु, अनु र द्रुह्यु । यिनलाई वेदमा पञ्चनद भनिएको छ । शोधअनुसार ईसापूर्व ७२०० अर्थात् आजभन्दा करिब ९२०० वर्षअघि ययातिका यी पाँच पुत्रको राज्य सम्पूर्ण पृथ्वीमा राज थियो । पाँचैजनाले आआफ्ना नामबाट राजवंश स्थापित गरे । यदुबाट यादव, तुर्वसुबाट यवन, द्रुह्युबाट भोज, अनुबाट म्लेच्छ तथा पुरुबाट पौरव वंशको स्थापना भएको थियो । यी सबैलाई चन्द्रवंशी मानिन्छ ।

यसैगरी ब्रह्माको चौथो पुस्तामा वैवस्वत मनु भएका थिए । वैवस्वत मनुका दस पुत्र थिए-इल, इक्ष्वाकु, कुशनाभ, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, शर्याति र पृषध । यी सबैबाट पनि वंशविस्तार भएको थियो । रामको जन्म इक्ष्वाकु कुलमा भएको थियो । जैन धर्मका तीर्थंकर निमि पनि यसै कुलका थिए । यस कुलमा थुप्रै महान् प्रतापी राजा, ऋषि, अरिहन्त एवं भगवान् भए । यिनै वैवस्वत मनुलाई इब्राहिमी धर्ममा नूह भनिन्छ । जसको समयमा जल प्रलय भएको थियो । वैवस्वत मनुका पुत्र इक्ष्वाकुले अयोध्यालाई आफ्नो  राजधानी बनाएर इक्ष्वाकु कुलको स्थापना गरेका थिए । यी सबैलाई सूर्यवंशी मानिन्छ ।

यहाँनेर उल्लेख्य कुरा के छ भने पृथ्वीमा कहिले सूर्यवंशी शक्तिशाली भएर शासन गरेको र कहिले चन्द्रवंशीको विजय पताका फहराएको पाइन्छ । साथै कतिपय समयमा पृथ्वीको कुनै भागमा सूर्यवंशीको र कुनै भागमा चन्द्रवंशीको शासन सत्ता रहेको पाइन्छ ।

 

Logo