सित्तैमा फेरी फेरी लुगा !

सित्तैमा फेरी फेरी लुगा !


काठमाडौँ,
ह्यापी क्लबले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई पनि सित्तैमा फेरी फेरी लुगाफाटो लगाउन पाउने अवसर दिने भएको छ । ‘माया बाँडौँ खुसी बढाऔँ’ भन्ने विश्वासका साथ क्लबले यस्तो अवसर जुटाएको हो ।

यस कार्यका लागि क्लबका अध्यक्ष तथा मनोविश्लेषक बासु आचार्य लागि पर्नु भएको छ । यही शनिबारदेखि तीनकुनेमा सञ्चालनमा आउने ‘गरिब तथा असहायले कपडा तथा जुत्ता रोजेर निःशुल्क लैजाने’ कार्यको सेवा सुरु गर्ने जानकारी आचार्यले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले लुगा सङ्कलन भइरहेको छ । आवश्यक परेका व्यक्तिहरूलाई हामीले नै खोजेर दिने गरेका छौँ । अब भने एउटा स्टल खोलेर लुगा राख्ने तयारीमा छौँ ।’’

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले पनि लुगाफाटो फेरी फेरी लगाउन सकून् तथा कुनै पनि सामानको पुनः प्रयोग गर्दा वातावरण राम्रो हुन्छ भन्ने उद्देश्यका साथ उक्त काम थालनी गरिएको हो । आचार्यले थप्नुभयो, ‘‘हामीसँग भएका सामानहरू पुरानो भए पनि पुनः प्रयोग गर्न मिल्ने तथा वातावरणलाई सुहाउँदो खालका छन् । सामानहरू लिएर आएपछि पहिले धोएर, आइरन लगाएर प्रदान गर्नेछौँ ।’’

तीनकुनेमा सञ्चालनमा ल्याएपछि पशुपतिमा पनि स्टोर राख्ने योजना रहेको जानकारी दिँदै उहाँले सातै प्रदेशका प्रमुख सहरमा यस्तो सुविधा विस्तार गर्ने बताउनुभयो । यस सेवाबापत कपडादातालाई क्लबले धन्यवाद पत्र प्रदान गर्ने र कपडा लैजाने असहाय दाजुभाइ, दिदी–बहिनीलाई धन्यवादसहितको एक फोन गराउने पनि क्लबले जनाएको छ । आचार्यले भन्नुभयो, ‘‘सबै पुराना सामान हामीलाई साथीभाइले अनुदान दिनुभएको छ, जसमा तन्ना, साडी, खेलौना लगायतका राम्रा सामान पनि छन् ।
गोरखापत्रबाट

Logo