निर्यात भन्दा १४ गुणा बढी आयात, व्यापारघाटा बढ्दै

निर्यात भन्दा १४ गुणा बढी आयात, व्यापारघाटा बढ्दै


काठमाडौं ,

आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपैयाँको निर्यात भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले आयात वृद्धि भएको छ। आव २०७४/०७५ मा १२ खर्ब ४५ अर्बको आयात भएको थियो। आयात उच्च रूपमा बढेपछि व्यापारघाटा चुलिएको छ।

 

निर्यात प्रवद्र्धनले अपेक्षित गति लिन नसकेपछि अनियन्त्रित आयातले व्यापार घाटा तीव्र वृद्धि भइरहेको छ। नेपालको सीमा व्यवस्थापन एकीकृत नहुँदा पनि वैदेशिक व्यापारमा विभिन्न अड्चन सामना गर्नुपरेको सरकारी अधिकारी बताउँछन्। भन्सार विभागले एक वर्षको तथ्यांक सार्वजनिक गर्दै व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको जानकारी दिएको छ। अघिल्लो वर्षको तुलनामा साढे १३ प्रतिशतले व्यापार घाटा बढेको छ। आव ०७४/०७५ मा ११ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा थियो। बढ्दो व्यापारघाटाले समग्र अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पर्न गएको छ।

 

आयात–निर्यातको अनुपात १४.६ प्रतिशत पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा जम्मा ६.४ प्रतिशत मात्रै छ। ९३.६ प्रतिशत हिस्सा आयातको छ। व्यापारको सबैभन्दा बढी हिस्सा रहेको भारतसँग व्यापारघाटा बढ्दै गएको छ। गत आवमा भारतबाट नौ खर्ब १७ अर्ब रुपैयाँको आयात भएको छ। तर निर्यात ६२ अर्ब मात्रै छ। भारतसँगको व्यापारघाटा नै आठ खर्ब ५५ अर्ब रुपैयाँ छ। कुल आयातमा ६५ प्रतिशत मालसामान आयात भारतबाट भएको तथ्यांक छ।

अन्नपूर्णबाट

Logo