पहिरोले २ घर सहित २६ चौपाया बगायो, ७२ लाखको क्षति

पहिरोले २ घर सहित २६ चौपाया बगायो, ७२ लाखको क्षति


दोलखा,

उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा शुक्रबार राति आएको पहिरोले २ घर सहित २६ चौपाया बगाएको छ । राति साढे ११ बजेतिर खसेको पहिरोले सुसिनटारस्थित राजेन्द्र थामीका २ घर बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरी कार्यालयले दिएको जनाकारीमा पहिरोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गहना र नगद समेत बगाएको छ । घर अगाडी पार्किङ गरिएको लु ३ त २३०४ नम्बरको ट्रयाक्टर र होमबहादुर श्रेष्ठको बा १७ प ६५०२ नम्बरको मोटरसाइकल समेत बगाएको प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिए ।

पहिरोल ३ वटा गाई, २३ वटा बाख्रा र ५ वटा कुखुरा सहित अन्य चौपाया पनि बगाएको दोलखाका प्रहरी निरीक्षक महतले जानकारी दिए । पहिरोले करिब ३५ रोपनी जमिन पुरै बगाएको छ । मकै र कोदो गरी करिब ५० पाथी अन्न, खानेपानीका पाइप करिब २० मिटर, २ वटा माछा पोखरी पनि बगाएको छ ।

पहिरोका कारण करिब ७२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहिरोले मानवीय क्षति नभएपनि आसपासको करिब २ किलोमिटर क्षेत्र अझै जोखिम रहेकोले बसोबासको सम्भावना नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
राजधानीबाट

Logo