सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब नाघ्यो

सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब नाघ्यो


काठमाडौं,

सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध, अपांग र एकल महिलाको जिविकोपार्जनमा सहयोग गर्न बाँडिने रकम भए पनि अरुले नै लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाउँविकास समितिका सचिवले भत्ता बापतको ठूलै रकम निकासा लिएर पनि वितरण गरेको कुनै प्रमाण पेश नगर्दा बेरुजु देखिएको छ ।

भत्ताको रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेश नगर्दा ठूलो रकम बेरूजु देखिएको हो । १५ वर्षयता सामाजिक सुरक्षा भत्ताको ९ अर्ब रुपैयाँ पेस्की फस्र्यौट हुन बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर काफ्लेले गाविसमा गएको पैसा सम्बन्धित गाविस सचिवले लिइ बाँडेको कागजात पेश नगरेका कारण ठूलो बेरुजु देखिएको बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कुल बेरुजु १९ अर्ब ६२ करोड छ । मन्त्रालयले असारमा देशभर बेरूजु फस्र्यौट गोष्ठी गरी सामाजिक सुरक्षा भत्ता अन्तर्गत ६० करोडको कागजात र सेस्ता संकलन गरेको लेखा अधिकृत काफ्लेले बताए । ‘मन्त्रालयको बेरुजु अंक घटाउन सामाजिक सुरक्षा भत्ताको पेस्की रकम फस्र्यौेट गर्नु पर्ने हुन्छ । सम्बन्धित अधिकारी तहमा नभेटिदा फस्र्योट गर्न सकस परेको छ’ उनले भने ।

महालेखा परीक्षकको कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै सामाजिक सुरक्षा भत्ताको एक अर्ब ३० करोड ४८ लाख ६१ हजार पेस्की वितरण भएको छैन । अघिल्लो वर्षमा साढे चार अर्ब पेस्की फस्र्यौेट हुन सकेको थिएन ।
अन्नपूर्णबाट

Logo