सांसदको आक्रोश- “बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए पनि हुने ?”

सांसदको आक्रोश- “बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए पनि हुने ?”


राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद बिडारीले प्रश्न गरे, “कुलतमा फस्ने जति युवा यो देशमा, श्रम बेच्न जाने जति युवा बिदेशमा, सरकारलाई यो कुरा थाहा छ कि छैन ?”

किसिम किसिमका सरकार आएपनि अहिलेसम्म वेवास्ता गरेको भन्दै सांसद बिडारीले अबको सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए। कुलतको परिभाषा दिंदै उनले भने, “झिंगाको टाउकोको एक भागको १० भाग, एक चोटी खाएपछि अर्को चोटी खाउँ खाउँ लाग्ने, खान छोडे बहुलाउने, अलिअलि खादै गयो भने ६ महिनाभित्र मर्ने।”

नेपालमा जताततै मदिरा बेच्ने र खाने गरेको भन्दै सांसद बिडारीले यसलाई नियन्त्रण गर्न सुझाव दिएका छन्।  निश्चित ठाउँमा मात्रै रक्सी खान पाइने विश्वव्यापी मान्यता अत्मसाथ गर्न माग गर्दै उनले भने, ”निश्चित पसलले मात्रै बेच्न पाउने, निश्चित व्यक्तिले मात्रै किन्न पाइने बनाउनुपर्छ।” साना बालबालिकाहरुले समेत मदिरा किन्न पाउने व्यवस्थालाई व्यंग्य गर्दै उनले भने, “बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, रक्सी खानलाई ६ वर्ष भए नि हुने ?”

२०३१ सालमा बनेको मदिरा ऐन परिमार्जन नहुँदा  घरेलु हिँसा, महिला हिँसा, रात्रि हिँसा र अपराधिक गतिबिधि बढेको भन्दै सांसद बिडारीले भने, “एउटा सटरमा औषधि पसल, सँगैको अर्को सटरमा रक्सी पसल, अगाडिपट्टि औषधि पसल, पछाडीपट्टि रक्सी पसल ?, किन भन्दा कर असुल्नलाइ रे। ”

सांसद बिडारीले अब २२ वर्ष नपुगेकाले मदिरा किन्न नपाउने नियम बनाउनुपर्ने र  मदिरा सेवनकालागि निश्चित क्षेत्र तोक्नुपर्ने  बताए ।  हरेक वडामा मदिरा सेवन गर्नेहरुको सूची नै बनाउनुपर्ने बताउदै उनले भने, “भारतमा ‘मदिरा सराबी पिउनावालाका नाम’ भने जस्तै यहाँ पनि वडा वडामा रक्सी पिउनेहरुको सूची बनाउनुपर्छ, रक्सी खानलाई फलानो जंगलको फलानो कुना भनेर तोक्नुपर्छ ।” लागुऔषध, इलेक्ट्रोनिक खेलहरु, जुवातास, बेरोजगारलगायतका अपराधिक बाटोहरु न्युनिकरण गर्नुपर्ने उनको भनाई छ।

कालो सिसावालालाई मात्रै बाटो, मान्छे र गाइभैंसीलाई खोइ ? 

संसद बैठकमा बोल्दै बिडारीले सडक बनाउँदा पैदलयात्रीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सडक हेरेर मुलुकको सभ्यता थाहा हुने भन्दै बिडारीले भने, “घरको सभ्यता थाहा पाउन भान्छा र ट्वाइलेट हेर्ने।  मुलुक सभ्य छ कि छैन भनेर हेर्न सार्वजनिक बाटो हेर्ने ।’  उनले पूर्व पश्चिम राजमार्गमा ठूल्ठूला सवारीसाधन गुड्ने भए पनि मान्छे र पशुपंक्षी हिड्ने बाटो नबनाएको भन्दै सरकारको आलोचना गरे ।

राजधानीमा पनि बाटो बनाउँदा पैदल र साइकलयात्रीलाई ध्यान नदिएको बताउंदै उनले भने, “त्रिपुरेश्वरदेखि थानकोटसम्मको सडकमा ६-७ इन्चको पैदल बाटो छ, त्यसमा पनि पसलेले सिंढी हालिदिन्छ ।” उनले थपे, ”दोकानका सामान प्रदर्शनी गरिदिन्छ।  हुई हुइकेर आएको कारले ड्याम्म हानेर उडाईदिन्छ ।”

हेर्नुहोस भिडियो 

Logo