दुईवटा राष्ट्रिय गौरवका आयोजना संचालनमा

दुईवटा राष्ट्रिय गौरवका आयोजना संचालनमा


काठमाडौँ,
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया आयोजना र सिक्टा सिंचाई आयोजना सञ्चालनमा आएका छन् । मंगलबार उर्जा तथा जलस्रोत मन्त्रालयमा पत्रकार सम्मेलन गरी उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रानीजमरा कुलरिया आयोजना र सिक्टा सिँचाइ आयोजनामा भएको प्रगतिका विषयमा जानकारी दिएका हुन् ।

कैलालीमा रहेको रानीजमरा आयोजना सञ्चालनमा आएपछि १४ हजार ३ सय हेक्टर जमिन सिञ्चित हुने उनले जानकारी दिए । १४ हजार ३ सय हेक्टर प्रणालीलाई स्तरोन्नति गरेर ३८ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने भन्दै उनले आयोजना अन्तर्गतको इन्टेक जडान गर्नुपर्ने ८ वटा गेटमध्ये हाल ३ वटाको काम सम्पन्न भइसकेको पनि बताए । विश्व बैंकको ऋण अनुदानमा सम्पन्न भएको राष्ट्रिय गौरवको रानीजमरा कुलरिया र सिक्टा सिँचाई आयोजना मंगलबारबाटै सञ्चालनमा आएको पनि मन्त्री पुनले बताए ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना ३८ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको हो । मंगलबारदेखि सञ्चालनमा आएको उक्त आयोजनाबाट हाल १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी नहरमा पानी पठाइएको छ । कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानीजमरा र कुलरिया सिँचाइ प्रणालीलाई वृहत सिँचाइका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो ।

यस्तै ०६३ सालबाट निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना पनि मंगलबारदेखि नै सञ्चालनमा आएको उनले बताए । तत्कालै ५ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने गरी नहरमा पानी पठाएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । २५ अर्बको लागतमा उक्त सिँचाइ आयोजना निर्माण सम्पन्न भएको हो ।
कारोबारबाट

Logo