कथा: यमलोकको यात्रामा

कथा: यमलोकको यात्रामा


  • निकेश चपाईं-

‘कसम मैंले तँलाई छातीमै गोली हान्न खोजेको थिएन । सरी यार ।’

‘मैंले त ताकेरै हानेको हो । समातौं भने तलाइँ दिने चरम यातनाले नै मर्थिस् । सरी यार’

यो सम्बाद एउटा भिडन्तमा मारिएका दुइ फरक पात्रहरुको हो । एक जना विद्रोही र एक जना सेनाका जवान । पहाडको एक खोंचमा भिडन्त हुँदा ज्यान गएको थियो दुबैको एकैपल्ट । र, एक अर्काको गोलीले नै । र, उनीहरु जाँदै थिए माथि आकाशमा । स्वर्ग हो या नर्क पक्का छैन । तर, यमलोक त पुग्नु नै थियो ।

कट्टर दुश्मन थिए दुबै जिउँदो हुँदासम्म । मरेपछि यात्रामा केवल दुईमात्र छन् । हुन पनि हो मृत्युपछि कोही दुश्मन हुँदैनन् ।

जमीनबाट अलिकमाथि पुगे दुबै । कालो बादल मडारिएको छ । पानी पर्ने संकेत थियो त्यो । ‘एक छिन यतै बिसाउँ होला । माथि बादलले ढाक्छ, अन्तिम पल्ट गाउँलाई हेरौं न है’ विद्रोही पट्टीकोले प्रस्ताव राख्यो ।

‘ठिक भनिस् फेरि माथीबाट नदेखिएला ।’ सेना पट्टीकोले सहमति जनायो । ‘ए साँच्चि तेरो नाम के हो नि ?’ ‘के नाम भनुँ गाउँमा लाहुरे भन्थे । पछि विद्रोहमा लाग्दा गुमनाम थियो नाम, तँ मलाई काले भन्न । तँ भन्दा कालो छु नि ।’ उ अलिकति मुस्कुरायो । ‘तेरो नाम के नि ?’

‘छाड यार नाममा के छ, तँ काले भए मेरो नाम गोरे भयो’ तलतिर हेर्दै उसले जवाफ फर्कायो । ‘अब नयाँ ठाउँको नयाँ यात्रा, नाम पनि नयाँ नै ठिक होला ।’

‘तेरो घरमा को को थिए नि ?’ कालेले कुरा अघि बढायो ।

‘म जेठो हो, बालाई अघिल्लो वर्षमात्र पैरोले लग्यो । आमा छिन्, सत्तरी लागिन् । माइलो मलेसिया छ, कान्छो मुम्बइमा सेक्युरीटी गार्ड गर्छ, छोरो सात वर्षको भयो, छोरी चार वर्ष भइन् । श्रीमती छिन्, त्यही हो ।’ एकै श्वासमा पुरै बयान गर्यो गोरेले । ‘तेरो नि ?’ । ‘कस्तो संयोग त यार, तेरै जस्तो ठ्याक्कै । पोहोर रिंगटा लागेर आमा खसिन् । बाँकी माइलो र कान्छो तेरो जस्तै हो मलेशिया र मुम्बईमै छन् । छोरो सात वर्षको, छोरी चार वर्षकी भइन् । हैट कस्तो मिलेको ।’ काले र गोरेको घरबार उस्तै उस्तै थियो ।

‘हैट भन्दा पो याद आयो । त्यो हैट भन्नेले लास्टै हसाउँथ्यो, के नाम रे कस्तो विर्सें । कार्यक्रम हेर्थिस् ।’ गोरे खितिक्क गर्यो ।
‘ए ए हाम्रो बुद्धिमान । अँ अँ युट्यूबमा हेर्थे ।’ कालेको पनि मन पर्ने कलाकार थियो हैट, अर्थात बुद्धिमान तामाङ । र, गोरेको पनि ।
अचानक गम्भिर बन्यो काले । ‘उ त्यो डाँडाको छेउमा मान्छे जम्मा भा’को देखिस्, हो त्यहि हो मेरो घर’ । कालेले माथिबाटै गोरेलाई घर देखायो । गोरे पनि गम्भिर बन्यो ।

त्यहाँ कालेको मृत शरिर थियो । कालेकी काली छेउमै मुर्छित् थिइन् । बाका आँखा बाक्ला थिए । वरिपरिका छिमेकी जम्मा भएका थिए । कालेलाई घाट लग्ने तयारी हुँदै थियो । तर, घाट लाने कुरामा विवाद हुँदै थियो । कालेका बा घाट लगिहाल्ने भन्दै थिए । छिमेकी भने बाँडिएका । आधी जसो सिधै घाट लाने भन्दै थिए भने आधी दुई चार घण्टा पर्खने अलिक साँध बाक्लिएपछि ठूला नेताहरुले पार्टीको झण्डा ओढाएर मात्र अन्तिम संस्कार गर्ने । कोही फेरि भिडन्त हुन सक्छ । र, अर्को काले या गोरे मारिन सक्छ भन्दै प्रतिवाद गर्दै थिए ।

‘मरेपछि पनि कम्सेकम दुइ–चार घण्टा बोल्न सक्ने बनाइदिनु पथ्र्यो है’ कालेका आँखा भरिएका थिए । ‘मेरो लाशमा पनि विवाद किन ? म त भन्दिन्थें, माथि जंगलमा फ्याल्देउ, कमसेकम गिद्धले त खान पाउँथे ।’

‘त्यस्तो नभन्न यार, संस्कार त हुन्छ नि हाम्रो पनि’ गोरे सम्झाउँदै थियो । बादल रसायो । हल्का बाछिटा झर्न थाले । दुबै चुपचाप तल जमीन हेरिरहे । दुबैले एकैपल्ट मनमनै सोचे, ‘राम्रो मान्छे म¥यो भने पानी पर्छ भन्थे, हो कि क्या हो ।’

अचानक केही पड्किएको आवाज आयो । दुबै झसंग भए । ‘उ हेर त त्यहाँ ’ बन्दुकको आवाजतिर देखाउँदै गोरेले भन्यो ‘त्यो मालाले बेरिएको सुतेको मान्छे छ नि त्यो म हुँ । छातीमा हेर त ? बहादुरीको तक्मा छ र मलाई सलामी हो त्यो बन्दुकको आवाज ।’

कालेले उतैतिर हे¥यो । ‘क्रान्ति सफल भयो भने मलाई नि लगाइदेलान् नि है’ मोटो आवाजमा गोरेको हात समात्दै भन्यो ‘म त शहिदमा पर्छु, मेरा छोराछोरीले निःशुक्ल पढ्ने छन्, मेरी श्रीमतीले पनि सम्मान पाउनेछन्, बा शहिदको बा बनेर छाती तन्काउनेछन्, गाउँमा बाटो, बत्ती, विद्यालय, अस्पताल सबै आउनेछ । मेरो नाम अमर हुनेछ ।’

‘छाड्दे यस्ता कुरा । जे सुकै होस्, हामी मरिसक्यौं । अब नाम त रहला, नरहला । परिवारलाई यसो हेर्दिए हुन्थ्यो । गर्लान् नि ।’ गोरेले सोझो कुरा गर्यो । ‘बरु जोक्स सुनान यार, अन्तिम पल्ट कहिले हाँसियो त्यो पनि बिर्सियो ।

काले – उ त्यो खोला देखिस्
गोरे – अँ देखेँ ।
काले – खोलामा पुल देखिस् ?
गोरे – देखेन त यार ?
काले – त्यहाँ चार वटा पुल बनिसक्यो ।
गारे – खोइ, एउटै देख्दैन त ?
काले – यही त हो जोक्स ।
गोरे – यो जोक्स कहाँ भयो त यार ?
काले – उ त्यो, गाउँको बिचमा ठूलो घर देखिस् ?
गोरे – अँ देखेँ ।

काले – त्यो त्यहि पुल ठेकेदारको घर हो । अहिले सांसद पनि भइसके ।

दुबै खित्का छाडेर हाँसे । र, अचानक गम्भिर बने । उनीहरुले बुझे त्यसैले त उनीहरु अहिले यमलोकको यात्रामा छन् ।
‘अँ साँच्चि, तँ कसरी क्रान्तिको योद्धा भइस् त ?’ पहिले आतंककारी भन्थ्यो गोरेले, अहिले मरेपछिको सम्मानमा योद्घा भन्छ कालेलाई ।
‘ब्रिटिस लाहुरे बन्न खोजेको, छानेनन् । दलित भएकोले हो कि ?’ रहर थियो उसको आर्मी बन्ने । ‘अनि, कतै पानी छुन नपाइने, मन्दिर छिर्न नपाइने निराश थिएँ म । त्यसैबेला एउटा क्रान्तिकारीको जत्था आएर मलाई अंगाले । छुवाछुत हटाउने भन्दै मन्दिर लगे र बन्दुक थमाइदिए । अनि म पनि योद्धा बनें ।’ एक श्वासमै सक्कायो कालेले । ‘अनि तँ नि?’

‘मेरो पनि त्यहि कथा हो । ब्रिटिश लाहुरे हुन पाइएन । सेनामा जागिर खुल्यो । त्यतै लागेँ ।’ कथा उस्तै थियो दुबैको ।  कालेले अंगाले मा¥यो गोरेलाई । र, गोरेले कालेलाई । एक अर्काको पिठ्यूमा धाप दिए ।  ‘एकपल्ट एक घण्टालाई फेरि बाँँच्न पाए हुन्थ्यो है ।’ काले र गोरे दुबैले एकै पल्ट निकाले यो शब्द । एकले अर्कालाई हेरे र फेरि मुस्कुराए ।

‘के गर्थिस् त एक घण्टा मा ?’ गोरेले जिज्ञासा राख्यो ।

‘तँ पनि त हुन्थिस् नि यार । गएर रेडियो, टेलिभिजन र अखबारमा भन्थ्यौं नि दुबैलाई हाम्रो कथा । लडाइ किन ? हामी त दाजुभाइ जस्तै हौं ।’ कालेको आवाज अलिक मोटो छ । गोरेले थप्यो ‘हो नि, अनि बचेको समय छोराछोरीलाई सम्झाउँथ्यौं, श्रीमतीलाई माया गथ्यौं, अनि तँ बा को, म आमाको काखमा एकछिन निदाउँथ्यौं र त्यहीबाट माथि आउँथ्यौं नि ।’

‘ए साँच्चि तेरो पुर्ख्यौली कता ?’ कालेले प्रसंग बदल्यो ।

‘पर्वत हो ।’
‘मेरो पनि पर्वत नै हो त ।’ काले जिज्ञासु बन्यो ।

‘तेरो पुरा नाम के रे ? कतै नाता त पर्दैन हाम्रो ।’ कालेलाई खोइ किन आफ्नै जस्तो लाग्यो । ‘गोरे बहादुर विश्वकर्मा ।’ गोरेले आफ्नो नाम संगै सोध्यो । ‘तेरो नि ?’

‘कालु विश्वकर्मा, बाको नाम जगन, बाजेको सितारामा विश्वकर्मा’ तीन पुस्ते सुनाइदियो कालुले । ‘सिताराम विश्वकर्मा त मेरो बाजेको पनि नाम हो त यार’ झन् नजिकिए झै लाग्यो गोरेलाई । ‘बा को गगन विश्वकर्मा, तँ त काकाको छोरो पो परिस् कि क्या हो ।’

‘हो यार गगन त मेरो ठूलो बा पो हुन् त ।’  गगन र जगनले छुट्टीएर बसाइ सर्दा दुबै जन्मेका थिएनन् । र, अहिले एकले अर्कालाई गोली हानेपछि, यमलोकको यात्रामा बल्ल संगै भए । दुबैले एक अर्कालाई माया गरिरहे । अंगालो हाले । तर, को दाजु र को भाइ अझै छुट्टीएन । दुबैले एक अर्कालाई भाइ सम्झे ।

‘कति वर्षको भइस् त तँ ? दाजुभाई छुट्टयाउनु पर्यो नि ।’ कालेको प्रश्नले गोरे अझै भक्कानियो ।

‘छाड्दे उमेर, छाड्दे नाता, हामी साथी नै ठिक छौं । दाजुभाइ भए त फेरि अंशबन्डा फेरि झगडा ।’ गोरेले कालेको हात अलिक जोडले समात्यो ।

‘ओ केटा हो कति गन्थन हो । ल हिँड माथि ’ यमदुत आइपुग्यो । दुबै जना तल जमिन हेर्दै माथि उडीरहे । गोरे जल्दै गरेको घाटमा कालेको आँखा थियो । काले जल्दै गरेको घाटमा गोरेको । दुबै साटिएका थिए ।

बादल जस्तै मन बोकेका दुबैलाई बादलले छेल्दै गयो । तल, दुबैको चिता जल्दै रह्यो । पानी परिरह्यो ।

Logo