नेपाल टेलिकमले ल्यायो छुटै छुटको समर अफर

नेपाल टेलिकमले ल्यायो छुटै छुटको समर अफर


काठमाडौं,

नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुने गरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई छुटको अफर ल्याएको छ । कम्पनीले एफटीटीएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ ।

कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपियाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिनेछ । यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिनेछ । त्यस्तै एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै सयवटा सन्देश समेत पठाउन सकिन्छ ।

त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपियाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउनेछन् । यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिनेछ ।

यस्तै १२ सय रुपियाँँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइनेछ । यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिनेछ ।

यसैगरी संस्थागत ग्राहक समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपियाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयुजी समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपियाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपियाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबीको इन्टरनेट र सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ । साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ ।

त्यस्तै ७ सय रुपियाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबी इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइनेछ । हजार रुपियाँमा ५ सय ५० मिनेट कुराकानी, हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।

Logo