भारतीय दूतावासबाट आएको पत्रबारे जानकारी नदिइएका विषयमा खोजी गरिने : प्रधानमन्त्री

भारतीय दूतावासबाट आएको पत्रबारे जानकारी नदिइएका विषयमा खोजी गरिने : प्रधानमन्त्री


काठमाडौँ,

प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनु भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादीरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गर्नुभयो ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उहाँले भन्नुभयो, “जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।” उहाँले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उहाँले भन्नुभयो, ‘‘ कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’’ उहाँले सुरक्षा, अन्तर्राष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घ अन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गर्नुभयो ।
रासस

Logo