रुद्राक्षको बोटमा सिसी क्यामेराको निगरानी

रुद्राक्षको बोटमा सिसी क्यामेराको निगरानी


संखुवासभा,

संखुवासभामा पछिल्लो समय बोटबाटै रुद्राक्ष चोरी हुने र राम्रा रुद्राक्ष फल्ने बोट नै ढाल्ने त्रास बढेपछि अहिले रुद्राक्ष कृषकले बगानमै सिसी क्यामरा जडान गर्न सुरु गरेका छन् ।

गुणस्तरीय फल दिने रुद्राक्षको बोटमा क्षति पुर्याउने घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेका हुन् । जिल्लाको सिलिचोङ गाउँपालिका ५ याफुका किसान डम्बरबहादुर राईले आफ्ना रुद्राक्ष बगानमा ८० हजार खर्चेर सिसी क्यामरा जडान गरेका छन् । रुद्राक्ष चोरी र राम्रा बोटमा बिषादी हालेर मार्ने प्रवृत्ति बढेको भन्दै आफूले आकर्षक तलब दिएर रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा नै जडान गरेको राईको भनाइ छ । उनले २६ बोट रुद्राक्ष भएको बगानमा यस वर्ष तीन जना कुरुवासँगै सिसी क्यामरा जडान गरेको र कुरुवाले अब रुद्राक्ष र सिसी क्यामरा दुवैको सुरक्षा दिने भएकाले चोरीको सम्भावना न्यून भएको बताए ।

गतवर्ष याफु गाउँमा नै बहुमुल्य रुद्राक्ष फल्ने बोटमा अज्ञात समूहले आराले काटेर क्षति पुर्याएपछि गाउँका अरु कृषकहरू पनि त्रसित बनेका छन् । करिब महिना दिन अघि मात्र पाँचखपन नगरपालिकाको स्याबुन गाउँमा पनि रुद्राक्षको जरामा विषादी हालेर क्षति पुर्याइएको थियो ।

गुणस्तरीय रुद्राक्ष फल्ने यहाँका बगानहरूमा सुरक्षाका लागि प्रायः सवैले राम्रो पारिश्रमिक दिएर कुरुवा राख्ने गरेका छन् । केहीले निश्चित समयको लागि लिखित सम्झौता गरेरै बोट नै ठेक्का लिएकाहरूले समेत कुरुवा राख्दै आएका छन् ।

संखुवासभा र भोजपुरमा फल्ने रुद्राक्ष चीन र भारत दुवै देशमा निर्यात हुँदै आएको छ । मुखदार रुद्राक्ष भारततर्फ र थोरै मुख भएको तर आकारमा ठूलो, थेप्चो र चिल्लो रुद्राक्ष चीन निर्यात हुँदै आएको छ । मुखदारमध्ये २१ मुखे रुद्राक्ष प्रतिगोटा २० लाखदेखि ५० लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।
कारोबारबाट

Logo