पानी पर्ने कामना सहित किसानले गरे भ्यागुताको विवाह !

पानी पर्ने कामना सहित किसानले गरे भ्यागुताको विवाह !


विराटनगर,
मध्य असार बितिसक्दासमेत वर्षा नभएपछि यतिबेला किसानहरु चिन्तित छन् । पानी नपरेपछि फुर्सदिला बनेका मोरङका किसानले वर्षा होस् भन्ने कामनासहित भ्यागुताको विहे गरेका छन् ।

मोरङ रंगेलीका किसानहरुले चिसाङ खोलाको किनारमा रहेको संसारी माईस्थान मन्दिरमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका हुन् । वैवाहिक कार्यक्रम नै बनाएर भ्यागुताको विहे गरेको स्थानीय किसानहरुले बताएका छन् । भ्यागुताको विहे गरेपछि पानी पर्छ भन्ने विश्वासका आधारमा भाले र पोथी भ्यागुताको विधिवत रुपमा विहे गरिएको स्थानीय किसान रमेश यादवले बताए ।

मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फबाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रृगारका सामान लगाएर वेहुलिझैं सिंगारिएको थियो । भ्यागुताको विवाह गर्दा वर्षा हुने जनविश्वास रहि आएकाले किसानहरु सामूहिक रुपमा भेला भई विवाह सम्पन्न गरेका हुन् । रंगेली नगरपालिका ७ का रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुली पक्षको भुमिका निर्वाह गरेका थिए ।

मण्डलले कृषिप्रधान मुलुुकमा पानी नपरेका कारण किसान निराश भएको र केही उपाय नलागेकाले वर्षा गराउन सकिन्छ भनेर भ्यागुुतोको विवाह गरेको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले वर्षा गराउन विगतमा पनि इनारको विवाह, भ्यागुुताको विवाह गर्ने चलन रहेकाले पनि आफूहरुले यस्तो वैवाहिक कार्यक्रम राखेको बताए । कार्यक्रममा रंगेली, सुनवर्सी नगरपालिका तथा धनपालथान गाउँपालिकाका किसानको सहभागिता थियो ।
नेपाल समाचारपत्रबाट

Logo