नाकामा तरकारी सड्यो, बजारमा भाउ बढ्यो

नाकामा तरकारी सड्यो, बजारमा भाउ बढ्यो


काठमाडौं,

विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् । अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ ।’

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए । ‘नेपालपट्टि ल्याएर पनि जाँचपास गरी समयमै हिँडाउन समस्या हुने बुझेपछि भारतीय सीमावर्ती क्षेत्रबाटै कन्टेनर फर्काइएको छ,’ उनले भने, ‘फर्काइएका कन्टेनर व्यवसायीले भारतीय बजारमै घाटा खाएर बिक्री गरेका छन् ।’ उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए । व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबल लगायत तरकारी आयात भएका छन् ।

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले साढे ४३ अर्बबराबरको तरकारी र फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म २६ अर्ब ४६ करोड ७५ लाखको तरकारी र १७ अर्ब तीन करोड ९६ लाखको फलफूल आयात भएको हो । यस अवधिमा पाँच अर्ब ४६ करोड ३० लाखको आलु, चार अर्ब ८२ करोड ८३ लाखको प्याज, ३६ करोड ३६ लाखको लसुन, ५० लाख ८८ हजारको काउली, सात करोड ९२ लाखको कोसा भएको तरकारी आयात भएको छ । त्यस्तै, एक अर्ब ६७ करोडको केरा, एक अर्ब १२ करोडको सुन्तला, एक अर्ब ३५ करोडको अंगुर, चार अर्ब ७९ करोडको स्याउ, ३२ करोड ९५ लाखको खरबुजा आयात भएको विभागको तथ्यांक छ ।

११ महिनाको अवधिमा नेपालले एक अर्ब २२ करोड ९९ लाखबराबरको तरकारी तथा फलफूल निर्यात गरेको छ । एक अर्ब २२ करोड पाँच लाखको तरकारी र ७९ लाखको फलफूल निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
नयाँ पत्रिकाबाट

Skip This
Logo