गृहका प्रवक्तालाई कानून सिकाउने ट्राफिकलाई सडकमै सम्मान

गृहका प्रवक्तालाई कानून सिकाउने ट्राफिकलाई सडकमै सम्मान


काठमाडौं । गृह मन्त्रालयका प्रवक्ताको गाडीमाथि कारवाही गर्ने ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । सिंहदरबारको पूर्वी गेटअगाडि जथाभावी पार्किङ गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको सवारीमाथि कारवाही गर्ने ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै सम्मान गरेका हुन् ।

अनाधिकृत क्षेत्रमा पार्किङ गरेर राखेको प्रवक्ता सुवेदीको गाडिमा बुधबार ट्राफिक प्रहरीले ह्वील लक गर्दै एक हजार रुपैयाँको चिट काटेका थिए । प्रवक्तालाई नै कारवाही गरेर चर्चामा आएका ट्राफिक प्रहरीलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए ।

प्रवक्ता सुवेदीले चढ्दै आएको बा२झ ४३८८ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेका थिए । त्यस्तै, अर्को बा२झ ३४६ नम्बरको सरकारी गाडीमा समेत ट्राफिक प्रहरीले लक गरेका थिए । महानगरीय ट्राफिक प्रहरी प्रभाग अनामनगरबाट खटिएका ट्राफिकले गाडीमा लक गरिदिएका हुन् ।

प्रवक्ता सुवेदी गाडी सडक किनारमा पार्किङ गरेर खाना खान गएका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजार को चिट काटेका थिए ।

जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे

Logo