दैलेखमा सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम

दैलेखमा सुरु भयो पेट्रोलियम अन्वेषण कार्यक्रम


दैलेख,

दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताउनुभयो ।

अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उहाँले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौता अनुसार अहिले चिनियाँ टोलीले नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिनुभयो । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ । डा सापकोटाका अनुसार, अन्वेषण कार्य अन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ ।

दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यसपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने जानकारी उहाँले दिनुभयो । जमिनबाट चार दशमलाव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने छ । यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खननका लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताउनुभयो ।

खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले अहिलेसम्म गरिएको खोज तथा अन्वेषण तथा दैलेखमा पाइएको कच्चा तेलको आधारमा नेपालमा पेट्रोलियम पदार्थ रहेको दाबी गर्नुभयो ।
गोरखापत्रबाट

Logo