पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण ‘हिमाली आँधी’

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण ‘हिमाली आँधी’


काठमाडौं । खराब मौसमका कारण पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा परेको ठहर गरिएको छ । १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीसहित सात जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम मानिएको हो । यस दुर्घटनालाई आयोगले ‘एक दूर्भाग्य’ भनेको छ । मानवीय र प्राविधिक कमजोरी नरहेको आयोगको निष्कर्ष छ ।

प्रतिवेदनमा मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम बिग्रिएको उल्लेख गरिएको छ । केही समयपछि सामान्य रुपमा मौसम खुलेपछि हेलिकोप्टर उडान भएको प्रतिवेदनमा उल्लेख छ। हेलिकोप्टर उडेपछि पुनः मौसम बिग्रिन पुग्दा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ।

साथै प्रतिवेदनमा हेलिकोप्टर मोडिने समयमै अकस्मात आएको हिमाली आँधीमा पर्दा पाइलटले सम्हाल्ने मेसो नै पाएनन् र हेलिकोप्टर दुर्घटना भएको उल्लेख छ । प्रतिवेदनमा हेलिकोप्टरमा सवार मन्त्री तथा अन्य कसैले पनि पाइलटलाई दबाब नदिएको उल्लेख छ।

दुर्घटनाको अध्ययनसम्बन्धी बुझाएको प्रतिवेदन अब संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयभित्रै सार्वजनिक गर्नेछ ।

Logo