अभयाको आक्रोस– ‘भ्वाइस अफ नेपाल’ ले बिहान ७ जाँदा पनि बेलुका ७ बजे मात्रै खाना खुवाउँछ’

अभयाको आक्रोस– ‘भ्वाइस अफ नेपाल’ ले बिहान ७ जाँदा पनि बेलुका ७ बजे मात्रै खाना खुवाउँछ’


गायिका अभया सुब्बाले ‘भ्वाइस अफ नेपाल’ को व्यवस्थापन एकदमै कमजोर भएको बताएकी छिन् ।

‘भ्वाइस अफ नेपाल’ सिजन १ का कोच समेत रहेकी गायिका सुब्बाले सिजन २ मा आफूलाई हटाइनुको प्रमुख कारण व्यवस्थापकीय कमजोरी रहेको बताएकी हुन् । अभयाले आफ्नै च्यानलबाट एउटा भिडियो सार्वजनिक गर्दै आफुलाई हटाइएको जानकारी समेत नदिएको भन्दै गुनासो गरेकी छिन् ।

‘भ्वाईस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले ग्रान्ड फिनालेमा सहभागी नभएका कारण हेडक्वार्टरले नै असन्तुष्टि जनाएकोले अभयाको विकल्प खोजिएको बताएका थिए । यसबारेमा उनले असन्तुष्टी पोखेकी हुन् । उनले मेलबर्नमा आफ्नो ब्याण्डको कन्सर्ट हुने कुरा तीन महिनाअघि नै जानकारी दिएको र त्यसबेला व्यवस्थापनले अनुमति दिएको बताएकी छिन् । उनले यो कुरा व्यवस्थापन पक्षले हेडक्वाटरसम्म नपुर्याएकाले आफू हटाइएको बताएकी छिन् ।

अभयाले व्यवस्थापकीय कमजोरीले कार्यक्रममा बिभिन्न समस्याहरु आइपरेको बताउंदै कहिलेकाही बिहान ७ बजे काममा जाँदा बेलुका ७ बजे मात्रै खाना खुवाउने गरेको बताएकी छिन्।

उनले नयाँ कोचहरूसँग भने कुनै रिसिबी नभएको बताएकी छिन । आस्था रावत र राजु लामा नयाँ प्रतिभाहरुका लागि राम्रा कोच बन्न सक्नेछन् भन्दै उनले दुबैलाई शुभकामना पनि दिएकी छिन् । सँगसँगै उनले आफ्ना फ्यानहरुलाई ‘भ्वाइस अफ नेपाल’को सिजन २ मा नभएकोमा चित्त नदुखाउन र आफ्नो नयाँ गीत ‘हावाहुरी’ को प्रतीक्षा गर्न आग्रह गरेकी छिन् ।

Skip This
Logo