जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे

जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे


काठमाडौं । ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । ठूलाबडा गल्ती गर्दा कुनै कारवाही नहुने तर साना, पहुच नभएकाले सानो गल्ती गर्दा पनि ठूलो सजाय पाउने गरेका छन् । त्यसैले माथिको उखान चलचल्तीमा आएको हो ।

आफुलाई भीआईपी भन्दै जथाभावी गाडी पार्किङ गर्ने गृह मन्त्रालयका प्रवक्तालाई भने ट्राफिक प्रहरीले राम्रै दनक दिएका छन् । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ‘ह्वील लक’ गरेका हुन् ।

सिंहदरबारको पूर्वी गेटअगाडि जथाभावी पार्किङ गरिएका सरकारी गाडीमाथि ह्वील लक गर्ने क्रममा गृह प्रवक्ताको गाडीसमेत परेको ट्राफिक प्रहरीले जनाएको छ ।यसरी ह्वील लक गरिएका गाडीमध्ये गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको समेत रहेको र जथाभावी पार्किङ गरेबापत १ हजार जरिवानाको चिट काटिएको छ ।

प्रवक्ता सुवेदीले चढ्दै आएको बा२झ ४३८८ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेको हो । त्यस्तै, अर्को बा२झ ३४६ नम्बरको सरकारी गाडीमा समेत ट्राफिक प्रहरीले लक गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग अनामनगरबाट खटिएको टोलीले गाडीमा लक गरिदिएको हो ।

घटनास्थलमै ट्राफिकलाई धम्की

अनाधिकृत रुपमा पार्किङ गरिरहेका सवारीको ह्वील लक गर्ने क्रममा ति ट्राफिकले प्रवक्ताको सुवेदीको गाडी पनि कारवाहीमा परेको थियो । तर उनले चर्को दवावमा केही समयमै ह्वील अनलक गरि दिए ।

उनी गाडी सडक किनारमा पार्किङ गरेर खाना खान गएका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि प्रवक्ता सुवेदी आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई म गृह मन्त्रालयको प्रवक्ता हुँ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए ।

तर, ट्राफिकले गाडीका कागजपत्र मागे । कागजपत्र माग गरेपछि प्रवक्ताका सवारी चालकले आफ्नो गाडी गृह मन्त्रालयको गाडी हो भन्दै ट्राफिक प्रहरीलाई सम्झाउन खोजे । तर, ट्राफिक प्रहरीले गाडीको ह्वीलमा लक लगाइसकेका थिए । उनले गाडीको कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अडान राखे ।

केही समयको रस्साकसीपछि ट्राफिकलाई फोन आयो । फोनमा कसैले गाडी तुरुन्त छोड्ने आदेश दिइयो होला त्यसपछि उनले गाडीको ह्वील अनलक गरिदिए । गाडीको लक खोलेपछि प्रवक्ता मुर्मुरिँदै गाडी चढेर गए ।

ट्राफिक प्रहरीले आफ्नो अडानबाट पछि हट्न बाध्य भए । उनको अनुहारमा अध्यारो छाएको थियो । प्रवक्ता गएपछि उनले भने, ‘म त काम गरेर खाने मान्छे हो, जहाँ सरुवा गरे पनि के भो र ?’ उनले गाडी तुरुन्तै छाडेपछि एक हजारको चिट भने काटेरै छाँडे ।

यो पनि 

गृह मन्त्रालयको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिकलाई महाशाखाको स्यावास

Logo