६ महानगरको बजेट : काठमाडौंमा बढ्यो, वीरगन्जमा घट्यो

६ महानगरको बजेट : काठमाडौंमा बढ्यो, वीरगन्जमा घट्यो


काठमाडौं,

देशका ६ वटै महानगरपालिकामा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो भने अन्य ५ महानगरपालिकाले मंगलबार आआफ्नो नगरसभामा बजेट प्रस्तुत गरेका छन् ।

६ वटा महानगरपालिकाको कुल बजेट ३९ अर्ब ६६ करोड ९४ लाख पुगेको छ । चालू आव २०७५/७६ मा महानगरपालिकाहरूले कुल ३७ अर्ब ४६ करोड २५ लाख रुपैयाँको बजेट कार्यान्वयनमा ल्याएका थिए ।

चालू आवको तुलनामा आगामी आर्थिक वर्षमा महागरपालिकाहरूको बजेटमा सामान्य वृद्धि भएको छ । कुल बजेटमध्ये आगामी आवमा ५.५६ प्रतिशत मात्र बढी रकम खर्च गर्ने गरी ६ वटै महानगरपालिकाले बजेट प्रस्तुत गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले १० असारभित्र आगामी आवका लागि बजेट आफ्नो गाउँ तथा नगरसभामा प्रस्तुत गरिसक्नुपर्छ ।

वीरगन्ज महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट १६ प्रतिशतले घटाएर ल्याएको छ । चालू आवको बजेट कार्यान्वयन गर्ने अवधिभित्र ५० प्रतिशत पनि खर्च हुन नसकेपछि वीरगन्जले धेरै कार्यक्रम समेटेर बजेट बढाउने झन्झट नगरेको देखिन्छ । ६ महानगरमध्ये सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाले ल्याएको छ । आगामी आवमा काठमाडौंले १५ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ भने दोस्रो स्थानमा रहेको पोखराले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड ३० लाख, ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख, वीरगन्ज महानगरपालिकाले ४ अर्ब ४८ करोड १३ लाख र भरतपुर महानरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
राजधानीबाट

Skip This
Logo