पोखरा महानगरको बजेट ७ अर्ब ५४ लाख

पोखरा महानगरको बजेट ७ अर्ब ५४ लाख


पोखरा,

भूगोलका हिसाबले देशकै ठूलो महानगरपालिका पोखराले आर्थिक वर्ष २०७६/७७ का लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङले पूर्वाधारमा ठूलो हिस्सा छुट्याएको बजेट मंगलबार सार्वजनिक गरिन् । पुँजीगततर्फको ३६ प्रतिशत बजेट पूर्वाधार निर्माणमा केन्द्रित छ ।

बजेटले आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास, संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्घन, कृषि क्षेत्रको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य राखेको छ ।

आन्तरिक आय २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरिएकोमा ६८ करोड ५० लाख रुपैयाँ घाटा बजेट उपमेयरले प्रस्तुत गरिन् । घाटामध्ये १० करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने, ३६ करोड ५० लाख जनसहभागिता जुटाउने र बाँकी चालु आवको मौज्दातबाट २२ करोड रुपैयाँ व्यहोरिने उनले उल्लेख गरिन् ।

चालु आर्थिक वर्षको बजेट मेयर मानबहादुर जिसीले प्रस्तुत गरेका थिए । यसपालि भने उपमेयर मञ्जुदेवी गुरुङले बजेट ल्याइन् । उनी महानगरपालिकाको राजस्व परामर्श समितिकी संयोजकसमेत हुन् ।

‘प्रशासनिक खर्चमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषहरुमा ४० करोड, संसद विकासका कोष कार्यक्रम १४ करोड तथा विभिन्न विषयगत समितिहरुको पुँजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरेकी छु,’ उपमेयर गुरुङले भनिन् ।
अन्नपूर्णबाट

Logo