हरेक वर्ष २० हजार युवा दुर्व्यसनमा

हरेक वर्ष २० हजार युवा दुर्व्यसनमा


काठमाडौं,
नेपालमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको दुर्व्यसनमा फस्ने गरेका छन् । गृह मन्त्रालयले ०६९ मा गरेको सर्वेक्षणमा नेपालमा ९१ हजार पाँच सय ३४ जना दुर्व्यसनी रहेको पाइएको थियो ।

पछिल्लो समय ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेर डेढ लाख नाघिसकेको छ । लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरेका संस्थाका अधिकारीका अनुसार यो संख्या करिब दुई लाख पुगि सकेको छ ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी पछिल्लो वर्ष ११.३६ प्रतिशतका दरले दुर्व्यसनीको संख्या बढेको बताउँछन् । ०६३ मा नेपालमा दुर्व्यसनीको संख्या ४६ हजार तीन सय नौ रहेकोमा ६ वर्षमा नै झन्डै दोब्बर भएको थियो ।

६ वर्ष अघिको तथ्यांक अनुसार सबैभन्दा धेरै दुर्व्यसनी उपत्यकामा छन् । ९१ हजारमध्ये ३६ हजार नौ सय ९८ जना उपत्यकामा थिए । उपत्यकापछि सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, बाँके, पर्सा र मकवानपुरमा धेरै दुर्व्यसनी भेटिएका थिए । अहिले पनि तीनै जिल्लामा धेरै दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ ।

गृहले यो वर्ष फेरि दुर्व्यसनीको संख्या र कारणबारे सर्वेक्षण प्रक्रिया सुरु गरेको छ । ९१ हजारमध्ये ७० हजार दुर्व्यसनी ३० वर्षभन्दा कम उमेरका थिए । सर्वेक्षण अनुसार १५ देखि १९ वर्षको उमेरमा दुर्व्यसनमा फस्ने जोखिम धेरै हुन्छ । यो दुर्व्यसनीमध्ये ४८.९ प्रतिशत यही उमेरमा कुलतमा फसेका थिए । ३२.५ प्रतिशत १५ वर्षभन्दा कम उमेरै दुर्व्यसनमा लागेका थिए ।
नयाँ पत्रिकाबाट

Logo