मुक्तिनाथ दर्शनका लागि मोदी मुस्ताङ पुगे

काठमाडौँ

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका थिए ।उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ , स्थानीय जनप्रतिनिधि तथा नागरिकले स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदीको स्वागतका लागि मुक्तिनाथमा बिहानै देखि तयारी थालिएको थियो । मुक्तिनाथ परिसरमा रहेको रानीपौवा बजार देखि मन्दिर सम्म सुरक्षा जाँच कडा परिएको छ । स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषा सहित उपस्थित भएका छन् । मोदी मुक्तिनाथको दर्शनपछि काठमाडौं फर्किनेछन् । काठमाडौं आएर पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि राजनीतिक भेटघाट गरी उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।