गलबन्दी विवाद : गायक शम्भु राईले दिए यस्तो चेतावनी !

गलबन्दी विवाद : गायक शम्भु राईले दिए यस्तो चेतावनी !


काठमाडौं,

पछिल्लो समय गायक प्रकाश सपुतको गल्बन्दीको विवादसँगै चर्चामा आएका छन् गायक शम्भु राई । उनले गलबन्दीलाई आफ्नो गितको लय चोरीको आरोप लगाएर कानुनी उपचार खोज्ने बताएसँगै प्रकाश सपुत र शम्भु राईलाई जोडेर सामाजिक संजालहरुमा विविध टिकाटिप्पणीहरु आएका छन् । यथार्थ कुरा आफ्नो ठाउँमा होला , दुई कलाकारलाई जोडेर भ्रम श्रृजना गर्न खोज्नु पक्कै राम्रो होइन ।

अहिले यी दुई गायकलाई प्रतिक्रिया दिन भ्याई नभ्याई छ भने सिंगो देश नै २ सांगितिक चिरामा विभाजित भएको छ । केहि दिन अघि प्रकाशले शम्भु राईलाई सम्बोधन गर्दै सामाजिक संजालमा आफूले कसैको लय , शब्द वा अरु केहि पनि नचोरेको बताएका थिए । त्यस्तै गायक शम्भु राईले पनि हिजो मात्रै फेसबुकमै गलबन्दीको लय , भाका प्रतिलिपी भएकाले कानुनी प्रक्रियाबाट अघि बढ्ने बताएका थिए । राईले आज पुनः अर्को चेतावनीपूर्ण प्रतिक्रिया दिएका छन् । उनको भनाई जस्ताको तस्तै :

नक्कली आईडीको बारेमा मेरो कुरा

सम्पूर्ण आदरणीय शुभचिन्तक दाजुभाई दिदी बहिनिहरुमा सादर अनुरोध सहित जानकारी गराउन चाहन्छु, अहिलेको गलबन्दी र मेरो गीत आउ नाचौं साथि हो को प्रतिलिपि सम्बन्धि कुरालाई लिएर हामी दुवै कलाकारहरुलाई अनेक गालि बेइज्जति पूर्ण पोस्ट कमेन्ट भै रहेको प्रति हाम्रो गहिरो ध्यानाकर्षण भएको र यस्ता अवान्छित कार्य नगरिदिन हार्दिक अनुरोध ।

यसै क्रममा मेरो फोटो र नामको फेक नक्कली आईडि बनाएर अपाच्य र कपोल कल्पित भ्रामक कुरा फैलाउने प्रयास र कार्य भएको प्रति गम्भीर ध्यानाकर्षण भएको र त्यो जो जस्ले गरे, गराए पनि तुरुन्तै त्यो कार्य बन्द गर्न म यहि बिज्ञप्ति मार्फत अनुरोध गर्दछु ।

कानुनी प्रकृया अर्को बाटो रहेको पनि अवगत रहोस, कृपया मेरो नाम जोडेर भ्रामक र सामाजिक बिचलन निम्त्याउने कुनै पनि कुरा र कार्य नगर्न नगराउन दुई हात जोडेर बिन्ति गर्दछु ।

म समाज र देशमा शान्ति र सदभाब फैलाउन चाहने गायक हुँ । कृपया मलाई राजनीति र कुटनीतिमा नहोमी दिनु होला , मलाई गीत गाउन दिनुहोस माया र सदभाब फैलाउन दिनुहोस् , अरुमा नमुछि दिनुहोस ।

मलाई पैसा नाम भाईरल केहि चाहिएको छैन , केवल मेरो लय त्यहाँ मिसियो मेरो नाम रहोस मेरो सिर्जनामा भन्ने सोंच राख्न त एउटा सर्जकको अधिकार हो, मैले अधिकार मात्रै मागेको हो, बुझिदिनु होला ।

फेक नक्कली आईडीबाट पोस्ट हुने सबै कुराको बेवास्ता गर्नु होला र जस्ले त्यो कार्य गर्नु भएको र जे कारणले भएपनि तुरुन्तै त्यो अवान्छित कार्य बन्द गर्नु होला । भोलि कानुनी कुराको सामना गर्दा अवश्य नराम्रो लाग्नेछ । आजै त्यो दिन आउन नदिउँ । यस्ता नराम्रो कार्य र गतिविधिले गहिरो चोट र दुःख लागेको छ  !
धन्यवाद
गायक शम्भु राई

Logo