‘सियो खसे पनि देख्न सकिने गरि महानगरका सबै सडकमा स्मार्टलाइट जडान गर्छौं’ : मेयर महर्जन

‘सियो खसे पनि देख्न सकिने गरि महानगरका सबै सडकमा स्मार्टलाइट जडान गर्छौं’ : मेयर महर्जन


ललितपुर ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगर क्षेत्रभित्रका सबै सडकमा सियो खसे पनि देख्न सक्ने गरी महानगरले स्मार्टलाइट जडान गर्ने बताएका छन् ।

आज महानगरको १०२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरभित्रका सडकमा दायाँबायाँ हरियाली प्रवन्ध गरेको बताए । महानगरले यो वर्ष ६ सय ७९ वटा स्मार्टलाइट जडान गरेको पनि बताए । यसरी बागमती पुलदेखि सातदोबाटोसम्म रातिको समयमा सियो खसे पनि देख्न सकिने भएको उनको दावी छ ।

त्यस्तै, उनले महानगर क्षेत्रभित्र सडकलाई कुरुप बनाउने गरि राखिएका विज्ञापनका होर्डिङ बोर्डहरु अब चाँडै हटाएर ललितपुर महानगरलाई होर्डिङ बोर्ड मुक्त महानगर बनाउने तयारी गरेको पनि बताएका छन् । अहिले होर्डिङ बोर्ड हटाउने काम भइरहेको तर केही बोर्ड हटाउन प्राविधिक समस्या रहेकाले सबै बोर्ड हटाउन नसकिएको बताए । तर यो समस्या अन्त्य भएपछि चाडै होर्डिङ बोर्ड हटाउने प्रतिबद्धता गरेका छन् ।

उनका अनुसार ललितपुर क्षेत्रमा महानगरको जानकारीबिनै बोर्ड राखेका तथा कर तिरेर करार सम्झौता पुरा भएका सबै बोर्डहरु हटाउने तयारी छ । त्यस्तै महानगरले अब महानगरबासीहरुको सेवाको लागि घरमा नै बसेर कर तिर्न सक्ने अनलाइन प्रणालीमा चाँडै लागू गर्ने तयारी रहेको पनि उनले बताए । महानगरले विकास निर्माणदेखि धार्मिक स्थलको पूनर्निर्माणको कामलाई पनि महानगरको अगुवाइ तथा लगानीमा निर्माण गरिरहेको पनि उनको भनाई छ ।

Logo