ललितपुरको बजेट ५ अर्व १७ करोड, पूर्वाधार विकासमा सबैभन्दा बढी

ललितपुरको बजेट ५ अर्व १७ करोड, पूर्वाधार विकासमा सबैभन्दा बढी


ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्व १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट पेश गरेका हुन् । नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ ।

पूर्वाधार विकासका लागि २ अरव ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो । मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको पनि जानकारी दिए । त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अरव १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको २१ दशमलव ७४ प्रतिशत हो । सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’ को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ । मेयर महर्जनले ललितपुर नगरलाई समुन्नत सांस्कृतिक सहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको स्पष्ट पारे ।

त्यसैगरी दीगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, अपांगमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिवी न्यूनिकरण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख गरिएको छ ।

ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’ निर्माण गर्ने घोषणा पनि गरेको छ ।

Skip This
Logo