सरसफाई युक्त गाउँपालिका बन्दै काभ्रेको बेथानचोक

नवराज सापकोटा
बेथानचोक, काभ्रे
जिल्लाको बेथानचोक गाउँपालिका खुला दिशा मुक्त घोषणको अन्तिम चरणमा पुगेको छ । ६ वटा वडा रहेको गाउँपालिकाको एउटा मात्र वडा खुला दिसा मुक्त घोषणा हुन बाँकी रहेको बताइएको छ । घोषणा हुन बाँकी रहेको वडा नं ६ साविकको महाँकाल चौर गा.वि स खुल्ला दिसा मुक्त घोषणा भए सँगै गाउँपालिका पनि खुला दिशामुक्त क्षेत्र बन्ने छ । वडा नं ६ का लागि गाउँपालिकाले ४ सय घरधुरीको लागि प्यान र ३ मिटर पाइप उपलब्ध गराउने कार्य सुरु गरेको छ ।

भुग्देउमा संचालित सरसफाई अभियान तथा शौचालय निर्माण कार्यक्रम सम्बन्धी अन्र्तक्रियाले जेठ २० गते भित्रमा उक्त वडा भरीको सम्पूर्ण घरहरुमा शौचालय निर्माण कार्य सम्पन्न गरी जेठ मसान्त भित्रमा खुल्ला दिसा मुक्त वडा घोषणा गर्ने निर्णय भएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, वडा अध्यक्ष विष्णु तामाङ शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सरिता अधिकारी, कल्पना पन्त ग्रामिण विकास संस्थाका खडानन्द गौतम र पुरुषोतम आर्चाय स्थानीय जनप्रतिनिधी विभिन्न विद्यालयका प्रधानाध्यापक ,स्वास्थ्य स्वंयंसेविकाहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले मानिसको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य जस्तो विषयमा सबै चनाखो बन्नु पर्ने बताउँदै वडाबासीलाई छिटो भन्दा छिटो शौचालय निर्माणमा लाग्न निर्देशन दिए । कार्यक्रमले खुला दिशामुक्त वडा घोषणा गर्नका लागि आवश्यक व्यवस्थापन मिलाउन अपर्ण लामाको अध्यक्षतामा स्थानीय महिला स्वास्थ्य सेविका, विद्यालयका प्रधानाध्यापकहरु तथा स्थानीय समाजसेवीहरु रहेको समिति गठन गरिएको छ । उक्त वडा घोषणासँगै बेथानचोक गाउँपालिकाले पनि सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने तयारी थालेका स्वास्थ्य शाखा अधिकृत प्रमोद तिमल्सिनाले बताए ।