सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

काठमाडौँ

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठ जना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबारसगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।

रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठ जना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए । सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ ।

अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । वेस क्याम्प भन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । “धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् । सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको छ,”उनले भने ।

पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण समूहका ३६४ आरोही गन्तब्यतर्फ लागेका छन् । यस मध्ये चार समूहका २० जना नेपाली छन् । अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।
रासस