कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका हुन्- गृहमन्त्री

कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका हुन्- गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमै भएको बताएका छन्।

संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएर गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा पौडेलको मृत्यु भएको बताएका हुन्।

प्रहरीले गस्ती गर्ने क्रममा जम्काभेट भएको र शुरुमा प्रहरीमाथि गोली प्रहार भएको उनले बताए।  उनले उक्त घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको प्रहरीले जनाएको छ।

‘अनटेस्ट मोटरसाइकलसहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरी लक्षित फायर सुरु गरेपछि प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो,’ समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा पौडेल मारिएका थिए।

Logo