ठेकेदारले अलपत्र पारेको पुल नदीले बगायो

ठेकेदारले अलपत्र पारेको पुल नदीले बगायो


पोखरा,

कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन मोटरेबल पुलको सर्टिङ मादी नदीको बाढीले बगाएको छ । ठेकेदार कम्पनीले सम्झौताभन्दा १४ महिना ढिला गरी उक्त पुल ढलानको तयारी गरिरहेको थियो । ढलानका लागि ठिक्क पारिएको सर्टिङ शनिबारको बाढीले बगाएको हो ।

मादी गाउँपालिका केन्द्रसँग पोखरालाई जोड्ने गरी नदीमाथि पुल बन्दै थियो । साह्रै ढिला गरेपछि जनप्रतिनिधिले ठेकेदारलाई छिटो सक्न कागज पनि गराएका थिए । ठेकेदारले उक्त पुल २०७५ वैशाख २० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

मृत सञ्जीवनी निर्माण सेवा हेटौंडाले २०७२ चैत २१ गते २०७५ वैशाख २० गते ८३ मिटर लम्बाइको मोटरेबल पुल निर्माण सम्पन्न गर्ने गरी ८ करोड ६९ लाख रुपैयाँमा साविक जिल्ला विकास समिति कास्कीसँग सम्झौता गरेको थियो ।

निर्माण सम्झौतापछि पटकपटक काम सुरु गर्ने भन्दै काम गर्न अटेर गर्ने र पछि ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कबिहीन भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले बताए । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङका अनुसार ठेकेदारले कामै चैत तिरमात्रै सुरु गरेको थियो । ‘बर्खामा बनाउन हुँदैन भनेकै थियौं, आखिर बगाएरै छाड्यो’, उनले भने ।
अन्नपूर्णबाट

Logo