काभ्रेको बेथानचोकमा आधुनिक चूलो वितरण

नवराज सापकोटा
बेथानचोक,काभ्रे

जिल्लाको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा वनजंगलको संरक्षण तथा स्थानीयको स्वास्थ्य सुधारको समेत अपेक्षा राखेर आधुनिक चूलो वितरण कार्य थालिएको छ । पनौतीमा रहेको मल्पी इन्टरनेश्नल स्कूलको सहकार्यमा हिमालयन स्टोभ प्रोजेक्टले बेथानचोक गाउँपालिकाका ३५ घरधुरीका लागि चूलो वितरण गरेको हो । बेथानचोक गाउँपालिका वडा नं ४ सिक्रेघ्याङमा विभिन्न चरणमा उक्त चूलो वितरण गरिएको छ ।

पछिल्लो समय घर घरमा सुधारिएको चूलो निर्माण गर्ने गराउने क्रम बढेको भए पनि वितरित चूलो अझै प्रभावकारी रहेको चूलो प्रयोगकर्ता बताउँछन् । दाउरा त एकदमै कम लाग्छ, धूवाँको समस्या छैन । खाना छिटो पाक्छ यो त एकदमै उपयोगी लाग्यो, प्रयोगकर्ता रोजिना तामाङले बताइन् । दुई मुख भएको उक्त चूलो ग्रामिण क्षेत्रमा खाना पकाउन, पानी तताउन, गाईबस्तुका लागि कुँडो पकाउन समेत हुने तामाङको भनाई छ ।

अन्य चूलोको दाँजोमा २५ प्रतिशत दाउरा लाग्ने चूलोले वनजंगलको संरक्षणसँगै मानव स्वास्थ्यमा समेत असर नगर्ने हिमालयन स्टोभ प्रोजेक्टका नेपाल प्रतिनिधि जयराज भण्डारीले बताए । गरिब विपन्न वर्गको आर्थिक र सामाजिक विकासको लक्ष्य लिएर यो कार्यक्रम संचालन गरेको उनको तर्क थियो । वातावरण संरक्षण हाम्रो दायित्व हो । यही दायित्व पूरा गर्न यस किसिमका कार्य संचालन गर्दै आएको बताउँदै यसको प्रयोग ग्रामिण क्षेत्रमा सर्वत्र गरिनु पर्ने मल्पी इन्टरनेशनका शिक्षा संयोजक अर्जुन क्षेत्रीले बताए । बजारमा खरिद गर्दा पनि प्रति सेट १५ हजारमा पाइने उक्त चूलो पहाडी तथा हिमाली भेगमा प्रोजेक्टले निशुल्क वितरण गर्दै आएको उनको भनाई छ ।

अन्य इन्धन उपलब्ध नभएको र दाउरा पनि कम पाइने ठाउँ हाम्रो लक्ष्य हो उनले थपे । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले सहयोगी संस्थालाई धन्यवाद दिँदै वन पैदावार संरक्षण तथा स्वास्थ्य र सरसफाईका हिसाबले कार्यक्रम उत्कृष्ट रहेको बताए । संस्थाले विभिन्न चरणमा चूलो वितरण गर्दै जाने बताइएको छ । वितरण कार्यक्रममा बेथानचोक ४ का वडाध्यक्ष लाल बहादुर श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।