कलंकी–कोटेश्वर सडक डिजाइनको त्रुटि सच्याइने

कलंकी–कोटेश्वर सडक डिजाइनको त्रुटि सच्याइने


काठमाडौँ,
सरकारले कलंकी–कोटेश्वर सडक निर्माण गर्दा डिजाइनमा भएको त्रुटि सच्याउने भएको छ । साढे ९ किलोमिटरको यो सडक निर्माण गर्दा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको थिएन । चक्रपथ विस्तार आयोजनाले मुख्य लेन छुट्टयाउन मेडियन निर्माण गर्ने तयारी गरेको छ । आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार विस्तारित चक्रपथमा डिभाइडर निर्माण नगरिएकाले पनि दुर्घटना बढ्दो क्रममा रहेको बताए ।

उपत्यकाको भित्री र बाहिरी बस्ती छुट्टयाउने चक्रपथ सहरी रणनीतिक सडकका रूपमा छ । तर, यो सडकको डिजाइन गर्दा सुरक्षाभन्दा पनि गतिशीलतालाई प्राथमिकता दिइएको छ। जापानी सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको कोटेश्वर–सूर्यविनायक सडकमा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको छ । तर, कलंकी–कोटेश्वरमा भने डिभाइडर छैन ।

सडक विभागले कलंकी–कोटेश्वर खण्डलाई यात्रु र सवारी सुरक्षित राख्न र्‍यापिड इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसलाई अध्ययन गर्ने जिम्मा दिएको थियो । कन्सल्टेन्सीले नवनिर्मित सडकमा पूर्वाधार थप गरेर सुरक्षित बनाउन सकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । ‘सडक सुरक्षित बनाउन डिभाइडर निर्माण गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ ।

विपरीत दिशाको सवारी आगमन छुट्टयाउने डिभाइडर नभएकाले सवारी चालकले लापारबाही गरिरहेका छन्’, सडक विभाग तथा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले भने, ‘तीव्र गति र ओभरटेक गर्दा सवारी दुर्घटना हुने गरेको छ । विपरीत दिशाबाट गुड्ने सवारीलाई एकअर्काबाट अलग गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’
अन्नपूर्णबाट

Logo