आगामी वर्ष सबै स्थानीय तहमा इन्टरनेट

आगामी वर्ष सबै स्थानीय तहमा इन्टरनेट


काठमाडौं,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहसम्म ब्रोड ब्यान्ड इन्टरनेट सेवा पु¥याइने बताउनु भएको छ । आर्थिक वर्ष २०७६/ ७७ को विनियोजन विधेयकमा शुक्रबार मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री बाँस्कोटाले हालसम्म ३१८ स्थानीय तहमा ब्रोड ब्यान्ड नेटवर्क पुगिसकेको जानकारी दिनुभयो । उहाँले बाँकी स्थानीय तहमा आगामी वर्षभित्र सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चालू वर्षमा नै सबै स्थानीय तहमा सेवा पु¥याउने सरकारको लक्ष्य अनुसार काम भए वा नभएको विषयमा सांसदले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले इन्टरनेट जडानमा राउटर र मर्मत शुल्कमा छुट दिने निर्णय भएको पनि बताउनुभयो ।

“३१८ स्थानीय तहसम्म ब्रोड ब्यान्ड नेटवर्क पुगिसकेको छ । अर्को वर्षसम्म सबै स्थानीय तहमा ब्रोड ब्यान्ड कनेक्टिभिटीको काम सकिन्छ”, जवाफका क्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, “अप्टिकल फाइबरको काम तीव्र रूपमा अघि बढिरहेको छ । स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङको प्रक्रिया सुरु भएको छ । ” हुलाकको मौजुदा घाटा कम गरी आधुनिकीकरणका लागि हुलाक प्राधिकरण गठनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विज्ञापन नियमन विधेयकमार्फत चुनावको समयमा मिडियाले राजनीतिक दलको प्रचार गर्न नमिल्ने लगायतका विषयलाई समेटेको पनि मन्त्री बाँस्कोटाले बताउनुभयो ।
गोरखापत्रबाट

Logo