विप्लव समूहका ८५ नेता कार्यकर्ता जेलमा

विप्लव समूहका ८५ नेता कार्यकर्ता जेलमा


काठमाडौं,

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ८५ नेता, कार्यकर्ता जेल परेका छन् । आतंककारी तथा विध्वंसात्मक गतिविधि गरेको अभियोगमा पक्राउ परेका ५ सय २ नेता, कार्यकर्तामध्ये ८५ जनालाई कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार कारागारमा रहेका र अनुसन्धानपछि रिहा भएका माथी ४ सय ७४ वटा मुद्दा दर्ता गरिएको छ । आतंककारी, विध्वंसात्मक तथा संगठीत अपराध र लुटपाटमा संलग्न रहेको अभियोग लगाउँदै नेकपामाथी २०७५ फागुन २ गतेको मन्त्रिपरिषदले प्रतिवन्ध लगाउँदै उसका गतिविधि नियन्त्रणमा चारवटै सुरक्षा निकाय परिचालन गरेको छ । गत फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपालाई लुटेरा समूहको संज्ञा दिदै सरकार चुप लागेर नबस्ने चेतावनी दिएका थिए । त्यसको ५ दिनपछि विप्लवमाथी सरकारले प्रतिवन्ध नै लगाएको थियो ।

सरकारले प्रतिवन्ध लगाएपछि विप्लव सहित केन्द्रदेखि स्थानीय स्तर सम्मका नेता कार्यकर्ता भूमिगत भइसकेका छन् । उनीहरुको खोजीमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयन्त्रलाई विशेष सुरक्षा कार्यदलका रुपमा परिचालन गरिसकेको छ ।

चारवटै सुरक्षा निकायका विशेष अनुसन्धान टोलीलाई विप्लवका नेता, कार्यकर्ता खोजिमा परिचालन गरिएको गृह मन्त्रालय स्रोतको भनाई छ । केही दिन अघि मात्रै सरुवा भएका ७ वटै प्रदेश अन्तर्गतका नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआइजीहरुलाई गृहमन्त्री रामबहादुर थापाले विप्लवका गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन्।

पछिल्लो पटक सोलुखुम्बुमा विप्लव समूहकै कारण प्रहरी चौकी छोडेरै हिड्नु परेको घटनालाई गम्भीर रुपमा लिदै त्यस अनुसार नै सुरक्षा कारबाही बढाउँन गृहमन्त्री थापाले दुवै निकायका डीआइजीहरुलाई निर्देशन दिएको स्रोतको भनाई छ।
नागरिकबाट

Logo