आफ्नै विधान मान्दैनन् प्रमुख दलहरु

काठमाडौं

प्रमुख राजनीतिक दलहरु आफ्नो दलीय विधानबाट भन्दा सीमित नेताहरुको निर्णयबाट बढी चल्न थालेका छन् । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले पार्टी सञ्चालनका लागि महाधिवेशनबाट पारित गरेको विधान पालना गर्दैनन् ।

जनता सामु विधिको शासन, सुशासन, समृद्धि र विकासको नारा दिइरहेका प्रमुख दलहरुले आफैंद्वारा बनाइएको विधान बेवास्ता गरिरहेका छन् । विधानमा दलले महत्वपूर्ण निर्णय केन्द्रीय समितिबाट लिनुपर्ने व्यवस्था गरेका भए पनि तीन वटै प्रमुख दलले सीमिति नेताहरुको घेरा भित्रबाट मात्रै निर्णय लिने गरेका छन् । यसले पार्टीको संगठनात्मक संरचना र केन्द्रीय समितिको अधिकार संकुचनमा पर्न थालेको चिन्ता नेताहरुले नै गर्न थालेका छन् ।

स्थानीय, प्रदेश र संघको चुनावमा उम्मेदवारी चयन, चुनावी रणनीति, गठबन्धन निर्माण तथा पार्टी एकता जस्ता महत्वपूर्ण निर्णयमा समेत प्रमुख दलहरुले केन्द्रीय समितिलाई बेवास्ता गरेका छन् । यस्तो बेला पार्टीले केन्द्रीय समितिमा छलफल गराएर निर्णय लिनु पर्ने थियो । तर प्रमुख नेताहरुले त्यस्तो बैठकको आवश्यकता नै ठानेनन् । सीमित नेता वा समितिमा मात्र निर्णय गराएर सिंगो केन्द्रीय समितिले अपनत्व लिने वैधानिक बाटो शीर्ष नेतृत्वले नै बन्द गराइदिए ।

‘चुनावमा उम्मेदवार चयनमा त पार्टी केन्द्रीय समिति बैठक बस्नै सकेन,’ एमाले कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘अन्य बेला झन् बैठक विधान अनुसार कसरी बस्ला र ? बस्दा त राम्रै हुन्थ्यो ।’
अन्नपूर्णबाट