चार वर्षमा पनि पूरा भएन कलङ्की-नागढुङ्गा सडक

चार वर्षमा पनि पूरा भएन कलङ्की-नागढुङ्गा सडक


काठमाडौं,

गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की–नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन । चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ ।

कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन । ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदैछ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् । १८ मिटर चौडा सडकको दुवैतर्फ दुई, दुई मिटर सडक पेटी र मध्यभागमा बनाउनु पर्ने मेडियनको काम बाँकी नै छ । पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन ।

कलङ्की चोकदेखि तीन सय मिटर तलसम्म कालोपत्रे, पेटी तथा मेडियन निर्माण सबै बाँकी छ । ढुङ्गेअड्डादेखि नैकापसम्म पेटी क्षेत्र छुट्याएर कालोपत्रे गरिए पनि मेडियनको काम ढुङ्गेअड्डामा मात्र गरिएको छ । नैकापदेखि बल्खु खोलापुलसम्म साविककै सडक क्षेत्रफलमा कालोपत्रे गरिएको छ । सडकपेटी मेडियन निर्धारण हुनै सकेको छैन ।

बल्खुखोला पुलदेखि सतुङ्गलको बजारनजिक बागेश्वरी अस्पतालसम्म भने सडक करिब करिब तयारी अवस्थामा पुगेको छ । केही स्थानमा सडक पेटीलाई अन्तिम रूप दिन मात्र बाँकी छ ।

चार वर्ष पहिले ठेक्का सम्झौता भएको यो सडक निर्माण मुआब्जा विवाद, स्थानीयको अवरोध र ठेकेदारको ढिलासुस्तीका कारण लामो समय निर्माण गतिहीन बनेको थियो । तर गतवर्ष २०७५ साउन १० गते मन्त्रिपरिषद्ले निर्णय गरी सम्भव भएका स्थानमा मापदण्ड अनुरूप र विवादित स्थानमा यथासम्भव विस्तार गर्ने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएपछि कामले केही तीव्रता पाएको थियो ।
गोरखापत्रबाट

Skip This
Logo