रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार, जवाफी कारवाहीमा विप्लव नेता मारिए

रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार, जवाफी कारवाहीमा विप्लव नेता मारिए


सर्लाही । प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा विप्लव समूहका जिल्ला इन्चार्जको ज्यान गएको छ । बिहीबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलले ज्यान गएको हो ।

लालबन्दीबाट सिन्धुलीतर्फ गइरहेका दुईवटा मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा प्रहरी टोलीमाथि गोली प्रहार भएको नेपाल प्रहरीको प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीले जवाफी कारबाही गर्दा कुमारको घटनास्थलमै ज्यान गएको हो ।

प्रहरीले पौडेलको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको छ । प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ। दुईवटा मोटरसाइकलमा आएका चारजनाले प्रहरी माथि फायर खोलेको प्रवक्ता डिआइजी पोखरेलले बताए।

मारिएका पौडेलले बोकेको झोलाबाट थ्री नट थ्री राइफलको गोली र सिक्सर पेस्तोल समेत फेला परेको प्रवक्ता पोखरेलको भनाई छ । घटनामा बाँकी तीन जना भने भाग्न सफल भएका छन्।

केही समय अघि भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा पनि प्रहरीको गोली लागेर घाइते भएका नेकपा नेता तीर्थराज घिमिरेको उपचारका क्रममा मृत्यु भएको थियो ।

पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा गोली चलाएको थियो ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दको पार्टीमा लागे । उनी विप्लव पार्टीको प्रदेश नम्बर २ का माथिल्लो तहका नेता थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने चेतावनी दिएको थियो । पूर्वमाओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अपचलन गरेको, भ्रष्टाचार र गुण्डागर्दी गरेको आरोप लगाउँदै जनताले दण्डित गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । विप्लव समूहको उक्त चेतावनीपछि नगरपालिकामा प्रहरीले सुरक्षा प्रदान गरेको थियो ।

सर्लाहीमा प्रहरी र ‘विप्लव’ समूहबीच गोली हानाहान

ओली सरकारसँग कार्यकर्ता हत्‍याको बदला लिने विप्लवको चेतावनी

प्रहरीको गोली लागेर पहिलो पटक विप्लव कार्यकर्ता मारिए

भोजपुरमा प्रहरीद्वारा विप्लव कार्यकर्तामाथि गोली प्रहार

Logo